Kath khabar
दैनिक ४ घण्टा नारायणगढ - मुग्लिन सडकखण्ड बन्द रहने

 

                                  चितवन, माघ ८ ।  नारायणगढ - मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द भएसँगै सकेसम्म वैकल्पिक बाटोको प्रयोग गर्नुपर्ने देखिएको छ ।

काठमाडौं उपत्यका भित्रने र बाहिरिने मुख्य सडकखण्डको रुपमा रहेको यो सडकमा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएकाले दैनिक दिउँसो १२ देखि ४ बजेसम्म बन्द गर्न थालिएको हो । ४ घण्टा अत्यावश्यक बाहेकका सवारी साधनलाई चल्न नदिने भएकाले सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न नारायणगढ मुग्लिन सडक योजना कार्यालयले अनुरोध गरेको छ ।

कार्यालयका प्रमुख किरण कार्कीले अबको १ महिनासम्म दैनिक ४ घण्टा बाटो बन्द गरेर काम हुने जानकारी दिनुभयो । सडक आवागमन बन्द गरेर निर्माण गर्दा काम प्रभावकारी भएको भन्दै बाँकी काम पनि छिटो सक्काउन पुनः सडक बन्द गरी निर्माण थालिएको उहाँको भनाइ छ । हाल ४ स्थाानमा पुल निर्माणको काम भइरहेको छ ।

सिमलताल पुल र कालीखोला पुल निर्माण गरिने स्थानमा पहाड काटेर सकिएको छ भने तुइनखोला पुल र चिसेन्जीखोला पुल निर्माण गरिने ठाउँमा पहाड काट्ने काम अझै बाँकी रहेको नारायणगढ मुग्लिन सडक योजना कार्यालयका प्रमुख किरण कार्कीले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update