Kath khabar
दीपकको फिल्म ‘कामिनो’ नेपालीसँगै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा पनि रिलिज हुने



            काठमाडौं, माघ १२ । दीपक ओलीको निर्देशनमा निर्माण हुने ‘कामिनो’ को बुधबार सामाजिक सञ्जालमार्फत थिम पोस्टर सार्वजनिक गरिएको छ ।

एक्सेस नेपाल फिल्मसको  निर्माण, पूर्ण लामा क्रिएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । नेपाल र ल्याटिन अमेरिकाका विविध स्थानमा छायांकन हुने फिल्म ‘कामिनो’ नेपालीसँगै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा पनि रिलिज निर्माण टिमले बताएको छ ।

अहिलेका चर्चित अभिनेता प्रदिप खड्कालाई दर्शकले अब नयाँ फिल्म ‘कामिनो’ मा हेर्न पाउने भएका छन् । अभिनेता प्रदिपलाई आफ्नो फिल्ममा अभिनय गराउन निर्माता, निर्देशकहरु लालायित हुने गरे तापनि ‘प्रेम गीत-३’ पछि उनले कुनै फिल्म साइन गरेका थिएनन् । स्क्रिप्ट, टिम र क्यानभास मन परेकाले प्रदिप यो फिल्म गर्न राजी भएको बताईएको छ । प्रदिप र ‘कामिनो’ निर्माण पक्षबीच गत शुक्रबार औपचारिक सम्झौता भएको थियो ।

फिल्म प्रेम, रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन् । चैत्र तेश्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्नेछन् । फिल्ममा एसडी योगी र अलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्सन डिजाइन रहेको छ ।

दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् । फिल्मको हिरोइन लगायत अन्य कलाकार तथा प्राविधिक चयन कार्य छिट्टै समापन गर्ने तयारी निर्माण पक्षको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update