Kath khabar
विद्यालयमा उद्यमशीलता सिकाउँदै तुलसीपुरको मेट्रो कलेज


                 तुलसीपुर, माघ १३ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थी सन्दिप मल्लले मावि तुलसीपुर सेन्टरका विद्यार्थीहरूलाई उद्यमशीलता सिकाउँदै थिए ।

उनले आफूहरूले पढ्दै कमाउँदै गर्न कसरी सम्भव भयो भन्ने बारेमा सफलताको कथा समेत सुनाउँदा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले निकै उत्सुकतापूर्वक सुनिरहेका थिए। विद्यालय तहमै विद्यार्थीहरूलाई उद्यमशीलता सिकाउनका लागि कलेजले विद्यालय शिक्षा अभियान सञ्चालन गरेको कलेज प्रमुख वसन्त आचार्यले बताउँनुभयो।

‘पछिल्लो समय देश छाड्ने विद्यार्थीहरू बढ्दै गएका छन् त्यसलाई रोक्नका लागि पनि सानैदेखि उद्यमशील बनाउनुपर्ने हुन्छ’ उहाँले भन्नुभयो । कलेजले पहिलो चरणमा ६ वटा सामुदायिक विद्यालयमा वातावरण संरक्षण, उद्यमशीलता र पढ्दै कमाउँदै अभियानका बारेमा जानकारी प्रदान गर्नेछ ।

यसैबीच अभियानको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले विद्यार्थीमा माटो छुने र त्यसलाई माया गर्ने भावनाको विकास हुनुपर्ने कुरामा जोड दिनुभयो। ‘हामीले हाम्रो सम्भावना चिन्न नसकेर दुख पाएका छौ, सानैदेखि श्रम गर्ने बानीले हामीलाई उद्यमशील बनाउनका लागि सहयोग गर्दछ’ नगरप्रमुख खड्काले भन्नुभयो । उहाँले विद्यार्थीहरूले आफ्नो पढाइ खर्च आफैले जुटाउनुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वर्षात भण्डारी, शिक्षा महाशाखा प्रमुख चक्र भण्डारी, मावि सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, स्थानीय युवा परिषद्का कार्यकारिणी उपाध्यक्ष रविन्द्र डाँगी लगायतले मन्तव्य राख्नुभएको थियो ।

ग्रीन फाउन्डेसनका सचिव सुरेश रावतको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सन्दिप मल्लले गरेका थिए भने कार्यक्रमको अभिमुखीकरण मेट्रो कलेजका प्रशिक्षकहरू सचिन सुवेदी, कल्पना ओली, लक्ष्मी केसी र ग्रीन फाउन्डेसनकी सृजना शर्माले गरेका थिए।


 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update