Kath khabar
बागमतीमा ७० अंक ल्याए सवारी लाइसेन्स पाइने

 

                  काठमाडौं, माघ २४ ।  सामान्य गल्तीका कारण पटक-पटक ट्रायल दिँदा पनि सवारी चालक अनुमतिपत्र नपाएकाहरूले राहत पाउने भएका छन्। बागमती प्रदेश सरकारले ट्रालयमा ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ।

त्यसका लागि बागमती प्रदेश सरकाको श्रम रोजगार तथा यातायात मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको छ। ‘केही दिनभित्रै औपचारिक कार्यक्रम गरेर यो प्रणाली लागू गर्छौ’, श्रम रोजगार तथा यातायात मन्त्री एक लाल श्रेष्ठले भने। वर्तमान सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आवश्यक प्रक्रिया पुरा गरेर उक्त प्रणाली लागू गर्न निर्देशन दिइएको बताए । ‘सानो गल्तीका कारण लाइसेन्स नपाएर दुःख पाइरहेकाहरूले यो प्रणालीबाट लाभ लिन सक्नेछन्।’

काठमाडौंबाट यो प्रणाली लागू गर्ने बागमती प्रदेश सरकारको तयारी छ। यसअघि मन्त्रालयले पुस २० गतेबाट यो प्रणाली लागू गर्ने तयारी गरेपनि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले रोकेका थिए। चारवटा प्रदेशमा यो प्रणाली लागू भइसकेको छ।

यसका लागि यातायात व्यवस्था विभागले २०७८ सालमै कार्यविधि तयार पारेर प्रदेशलाई पठाएको थियो। अघिल्लो सरकारका मुख्यमन्त्री पाण्डे र यातायातमन्त्री घनश्याम दाहालबीच यस विषयमा मतभेत थियो। मुख्यमन्त्री पाण्डेले यो प्रणालीका विषयमा अध्ययन गर्न समिति बनाएर तत्काल उक्त प्रणाली लागू नगर्न निर्देशन दिएको थियो।

यातायत ब्यवस्था सेवा कार्यालय हेटौंडाका सुचना अधिकारी राजु अर्यालका अनुसार उक्त प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सयमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थीले सवारी चालक अनुमतिपत्र प्राप्त गर्नेछन्। 

प्रदेश सरकारले तयार पारेको निर्देशिका अनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकले घुमाउरो ९आठ आकार० मा दुई पटकसम्म छोएमा अनुत्तिर्ण भइँदैन। तर, दश अंक घट्नेछ। ‘दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरै पटक खुट्टाले भुईं टेकेमा सवारी बन्द भएमा भने अनुत्तिर्ण हुनेछ’, उनले भने। 

ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइने कार्यविधि छ। अर्यालका अनुसार घुम्तीमा साइड लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ। तर, त्यस्तो अवस्थामा अंकित रेखा छोयो भने अनुत्तिर्ण हुनेछन्।

कार, जिप, डेलिभरी भ्यानको हकमा घुमाउरो (आठ आकार)मा २ पटकसम्म अंकित रेखा छोए पनि अनुत्तिर्ण भइँदैन। तर, प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ। निर्देशिका अनुसार घुम्तीमा साइड लाइट नबालेमा १० अंक, ट्राफिक संकेत पालना नगरेमा १५ अंक घटाइनेछ। चारपांग्रे सवारी चालकलाई उकालोमा रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा र तोकिएको रेखा नाघी सवारी रोकेमा अनुत्तिर्ण हुनेछन्। साथै एक पटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा पनि अनुत्तिर्ण हुनेछन्।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update