Kath khabar
मेट्रो कलेजमा 'हामी सुन्छौ, हामी गर्छौ' अभियान

          

                      तुलसीपुर, माघ २६। तुलसीपुर मेट्रो कलेजले विद्यार्थीहरूलाई उत्प्रेरित गर्नका लागि 'हामी सुन्छौ, हामी गर्छौ' अभियान सञ्चालन गरेको छ ।

कलेजको बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई समसामयिक विभिन्न विषयहरूमा प्रशिक्षण दिइएको थियो । जीवनमा सफलता प्राप्त गर्नका लागि विद्यार्थीहरू अविचलित भएर गन्तव्यमा अगाडि बढ्नुपर्ने वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख टिकाराम खड्काले युवाहरूलाई उत्पादनशील काममा लगाउन आवश्यक भएको भन्दै उपमहानगरपालिकाले युवा लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभयो। ‘केही गर्छौ भन्ने युवाहरूलाई यही केही काम गर्ने वातावरण बनाउनेछौँ’ नगरप्रमुख खड्काले भन्नुभयो। उहाँले तुलसीपुर मेट्रो कलेजलाई प्राविधिक जनशक्ति उत्पादन गर्ने मुख्य कलेजकारुपमा स्थापित गरिने पनि बताउनुभयो।

सो अवसरमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्दै पूर्व नगरप्रमुख घनश्याम पाण्डेले मनलाई सही ढंगले नियन्त्रण गर्न नसक्दा धेरै युवाहरु विचलित हुँदै गएको भन्नुभयो। ‘हामीले आफूलाई मनोरञ्जनमुखी मात्रै बनायौ भने भविष्यमा केही पनि गर्न सक्दैनौ, समाजलाई चिनेर बुझेर अगाडि बढ्नुपर्दछ’ उहाँले भन्नुभयो । युवामा भएको शक्तिलाई सृजनशील काममा लगाउन सकिए युवा र देशको भविष्य उज्यालो हुने उहाँको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रहरी प्रदेश कार्यालयका प्रमुख डिआइजी टेकप्रसाद राईले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले अपराध बढ्दै गएको भन्दै सामाजिक सञ्जाल चलाउँदा संयमित भएर चलाउनुपर्ने बताउनुभयो। ‘महिला हिंसाका घटनाका बारेमा महिलाहरु आफै सजग हुनुपर्दछ, कसले सही या गलत नियतले व्यवहार गरेको छ भन्ने बारेमा विचार पुर्‍याउनुपर्दछ’ डिआइजी राईले भन्नुभयो ।

सो अवसरमा प्राध्यापक डा. सञ्जिव हुमागाईले युवाहरुको राजनीतिमा सृजनात्मक सहभागिता हुनुपर्नेमा जोड दिदै ‘देश बनेन भनेर हामी चिन्ता मात्रै गर्ने होईन कसरी बनाउने भनेर सृजनात्मक हुने पनि हो ’ भन्नुभयो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सामाजिक सञ्जालबाट कसरी भ्रामक सूचना सम्प्रेषण भइरहेका छन् भन्ने बारेमा जानकारी गराउँनुभएको थियो। ‘तथ्यताको परीक्षण नगरेर सामाजिक सञ्जालमा आएको भरमा पोष्टहरु शेयर गर्ने प्रवृत्ति युवाहरुमा बढिरहेको छ, यसले समाजलाई गलत दिशातर्फ मोडिरहेको छ ’ अध्यक्ष केसीले प्रष्ट्याउनुभयो। तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले मेहनत र लगनशीलताले सफलता प्राप्त हुने कुरामा जोड दिनुभयो।

पारस वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण देविसरा वलीले गर्नुभएको थियो भने कार्यक्रमको विषयका बारेमा कलेज प्रमुख वसन्त आचार्यले प्रकाश पार्नुभएको थियो।


 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update