Kath khabar
बागमती प्रदेशले ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था फागुन २ गते देखि लागू गर्दै

 


                        काठमाडौं, फागुन १ । भोलि फागुन २ गतेदेखि  बागमती प्रदेशभित्र सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि ट्रायलमा ७० अङ्क ल्याए पास हुने व्यवस्था लागू हुने भएको छ ।

फागुन १ गते सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेका कारण फागुन २ देखि यो व्यवस्था सुरु हुन लागेको मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले बताए । भोलि फागुन २ गतेबाट अनिवार्य रूपमा नयाँ व्यवस्था अनुसार परिक्षा सञ्चालन हुनेछ ।

यातायात व्यवस्था विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएपनि सबै प्रदेश सरकारले यो नियम लागू गर्न सकिरहेको थिएन।  यो व्यवस्था प्रदेश १, गण्डकी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा लागू भइसकेको छ भने बागमती प्रदेशमा पनि भोलिबाट यो व्यवस्था लागू हुन लागेको हो। 

नयाँ प्रणालीमा यस्तो छ व्यवस्था
यो व्यवस्थामा ट्रायल पास हुन लिखित परीक्षामा स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । यसमा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटिएको हुनेछ । जसमा चार/चार अंकका पच्चिसवटा वस्तुगत उत्तर दिने प्रश्न हुनेछन् । परीक्षार्थीले कार्यालयले उपलब्ध गराएका सवारी मात्र प्रयोग गर्न पाउनेछन् ।

 १०० पूर्णाङ्क रहेको प्रयोगात्मक परीक्षाको अंकभार यस्तो हुनेछ

  • परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन - १० अंक
  • घुमाउरो आठ - २० अंक
  • साँघुरो फलेक - १० अंक
  • युटर्न - १० अंक
  • ट्राफिक संकेत - १५ अंक
  • बम्प्स (उबडखाबड) - १५ अंक
  • उकालो - २० अंक

ट्रायलमा अंक काटिने अवस्थाहरू यस्ता छन् :

  • सवारी चलाउनु अगाडि सवारीको ब्रेक, ऐना र टायरहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ। यसो नगरे ३ अंक घट्नेछ।
  • एकपटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्नेछ।
  • हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ।
  • असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ।
  • घुमाउरो आठमा १ पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्नेछ।
  • थप एकपटकसम्म खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्नेछ।
  • युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्नेछ।
  • ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्नेछ।
  • उबडखाबडमा १ पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्नेछ।

फेल हुने अवस्थाहरू यस्ता छन् :

  • एकपटक भन्दा बढी भुइँमा टेके अर्थात् स्टार्ट बन्द भएमा।
  • एकपटक भन्दा बढी अंकित रेखा छोएमा वा खुट्टा भुइँमा टेकेमा।
  • ठीक दिशाबाट ठीक तरिकाले ८ नबनाएमा।
  • साँघुरो फलेकमा खुट्टाले भुइँ टेक्दा अर्थात् फलेकको लम्बाई पार गर्नु अगाडि नै सवारी फलेक बाहिर निस्किएमा।
  • उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अगाडि बढेमा वा रोकिएको अवस्थाबाट सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा।
  • उकालो सकेर ओरालो झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढे फेल भइनेछ।
     

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update