Kath khabar
सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण घोषणा, जापानमा नोमिनेसन अमेरिकामा अवार्ड हुने



                   काठमाडौं, फागुन ५ । सूर्य कर्पोरेसनले सन् २०१८ देखि शुरु गरेको सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण हुने भएको छ । २०१८ र २०१९ मा लगातर दुई संस्करण सम्पन्न भएको अवार्ड समारोहको तेस्रो संस्करण आगामी नोभेम्बरमा अमेरिकामा हुने गरी सोमबार दुबईमा जारी नेपाली सिनेमा फेस्टको औपचारिक कार्यक्रममा घोषणा गरिएको छ ।

कोरोनाका कारण लगातार दुई वटा संस्करण हुन नसकेको अवार्डको नोमिनेसन कार्यक्रम जापानमा गर्ने बताइएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सूर्य कर्पोरेसनका सीईओ बासुदेव लामिछाने, अभिनेता शिव श्रेष्ठ, सन्दीप क्षेत्री, प्रशान्त ताम्राकार लगायतले अवार्डको बारेमा अनुभव सेयर गर्दै शुभकामना व्यक्त गरेका थिए ।

आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले नेपाली फिल्मलाई डायस्पोरामा प्रर्वद्धन गर्नेले उद्देश्यले निरन्तर अवार्डसहित अन्य कार्यक्रमहरू गर्दै आएको बताए । झन्डै ६ दर्जन कलाकारहरुसहित जापानमा नोमिनेसन कार्यक्रमको तयारी शुरु हुने पनि लामिछानेले बताए । फिल्म तर्फ अभिनेता, अभिनेत्री, सहायक अभिनेता, सहायक अभिनेत्री, निर्देशक र फिल्म गरी ६ वटा विधा अवार्डमा समावेश छ । यस्तै संगीत तर्फ पप, आधुनिक र लोक गीतका गायक र गायिका गरी ६ वटा विधा समावेश छ । अवार्ड समारोहमा लाइफ टाइम एचिभमेन्ट अवार्ड, वर्ष कलाकारिता सम्मान र चलचित्र पत्रकारिता पुरस्कार पनि बितरण गरिनेछ ।

यसै वर्षदेखि अवार्डमा संगीतकार, नव अभिनेता, अभिनेत्रीको अवार्ड पनि थपिएको छ । यस्तै फिल्मको संगीत तर्फ गायक र गायिका पनि थपिएको छ । विभिन्न क्षेत्रमा आफ्नो योगदान दिदै आएका ब्यक्तिहरूको सम्मानका लागि अनर अवार्ड पनि थपिएको छ । तेस्रो संस्करणदेखि अवार्डमा २० विधा रहने आयोजक संस्था सूर्य कर्पोरेसनले जनाएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update