Kath khabar
महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

 

                  काठमाडौं, फागुन ५ ।  यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि ८ उपसमिति गठन गरिएको छ।

शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। पत्रकार, स्वयंसेवक बाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा यस वर्ष अन्यलाई पासको व्यवस्था गरिएको छैन।

यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको र भक्तजनको व्यवस्थापनका लागि ५ लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको सञ्चालक परिषद् सदस्य एवं मेला बजार सञ्चालन तथा साज सजावट व्यवस्थापन उप-समितिका संयोजक पूर्णसङ्गम जेठाराले जानकारी दिए।

यस पटक महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तको लागि हंस मण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिने र त्यहाँ संरचना निर्माण गरिएको पशुपति क्षेत्र विकास कोषका कोषध्यक्ष नारायण सुवेदीले जानकारी दिए। उनका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको व्यवस्थाको प्रबन्ध समेत मिलाइएको छ।

सुरक्षा व्यवस्था, प्रचार प्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनी लगायत प्रबन्ध मिलाइँदै छ। सुरक्षा व्यवस्था अनुगमन, प्रचार प्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उप-समितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

यसैगरी मन्दिरको मूल ढोका लगायत स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुने विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए। उनका अनुसार धुनीका लागि पशुपति क्षेत्रका निर्मल, भष्मेश्वर, राममन्दिर, श्रीगोरखनाथ (मृगस्थली), अन्नपूर्ण लगायत अखडामा दाउराको व्यवस्था गरिने छ।

यसैगरी नागा बाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिएको आयोजकले जनाएको छ।  यस वर्षको शिवरात्रिमा शान्तिसुरक्षा व्यवस्थापनका लागि १ हजार ५ सयको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित हुने भएका छन्।

मूल मन्दिर परिसरमा नेपाली सेनाले समेत व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ। महाशिवरात्रिमा छिमेकी मुलुक भारत लगायत तेस्रो मुलुकबाट हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ। पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारी स्वरुप झिलिमिली बनाइएको छ।

पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ । मारवाडी समाजको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम आज सम्पन्न हुँदैछ। महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा बिहीबार बिहान प्रभात फेरी कार्यक्रम गरिएको थियो।

पशुपति क्षेत्र विकास कोषको आयोजनामा आज बिहान पशुपतिको पश्चिम द्वारबाट पशुपति विकास कोषका पदाधिकारी, कर्मचारी, सरकारी तथा गैरसरकारी निकायका प्रमुख, नागरिक समाजका अगुवा, विद्यार्थी तथा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी प्रभात फेरीमा सहभागी भएका थिए।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update