Kath khabar
नेपालमै विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता

 

                   काठमाडौं, फागुन १४ ।  विद्युतीय गाडी उत्पादनका लागि नेपाल र कोरियाका २ कम्पनीबीच सम्झौता भएको छ । ३  अर्ब लागतमा प्रदेश १ मा उद्योग स्थापना गरी विद्युतीय गाडी उत्पादनका लागि कोरियाको एस.डी.के कम्पनी र नेपालको कोसी एन के मोटर्स प्रालिबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार उद्योग स्थापनाका लागि २५ प्रतिशत कोरियन कम्पनी र ७५ प्रतिशत नेपाली कम्पनीले लगानी गर्नेछ । सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनी एस।डी।केका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर गरेका छन् ।

एक वर्षपछि कोरियन प्रविधिमा आधारित विद्युतीय सवारीसाधन उत्पादन गर्ने लक्ष्य राखिएको कोसी एन के मोटर्स प्रालिका अध्यक्ष पुरीले जानकारी दिए । उनले पहिलो चरणमा स्कुल कलेजका लागि विद्युतीय बस उत्पादन गर्ने लक्ष्य राखिएको पनि बताए ।

त्यसपछि विस्तारै साना गाडी उत्पादन गर्ने लक्ष्य राखिएको पुरीको भनाइ छ । उनका अनुसार उद्योग स्थापनाका लागि आउँदो मार्चमा कोरियन कम्पनीको प्रतिनिधिमण्डल नेपाल आउनेछ । सोही टोलीको अवलोकनपछि प्लान्ट राख्ने स्थान टुङ्गो लाग्नेछ । प्लान्ट राख्ने स्थान छनोटपछि एक वर्षभित्र उत्पादन गर्ने लक्ष्यसहित काम अगाडि बढाउने पुरीले बताए ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update