Kath khabar
छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सम्पूर्ण तयारी पुरा



                        काठमाडौं, चैत १ । चैत २ देखि ६ गते (मार्च १६-२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । ‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ ‘निफ’ को सम्पूर्ण तयारीका लागि हाम्रो टीम तीन महिना अघिदेखि सक्रिय रहँदै आएको आयोजकको भनाई छ ।

‘निफ’को समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने छ भने समापन संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीबाट हुने छ । ५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएका छन् । सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित चार वटा अत्याधुनिक सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुल्चोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलबाट हुनेछन् ।

संसारभरीका प्रतिनिधि चलचित्रलाई आफ्नै आँगनमा हेर्न पाउने यो अवसरबाट कलाकर्मी तथा कलाअनुरागी कोहीपनि बञ्चित हुनहुन्न भनेर नै हामीले प्रदर्शनको दायरालाई फराकिलो पारेका हौं, आयोजकले भनेको छ । छैटौं निफको ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ । त्यसैगरी माथि उल्लेखित सिनेमा हलहरुमा टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने जानकारी यसअघि नै गराई सकेका छौं । चलचित्र प्रदर्शनको सेड्युल समेत सार्वजनिक गरिसकिएको छ । त्यसैगरी विगतमा झै यस पटक पनि ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको विधा समावेश छन् ।

यस पटकको निफमा समेत रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिईएको छ ।चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञहरुले विभिन्न सेसनमा उल्लेख्य सहभागिता जनाउनु हुने टुंगो लागिसकेको निफका अध्यक्ष केपी पाठकले जानकारी दिएका छन् । सम्पूर्ण सेसनहरु र एकल प्रस्तुतिका सम्बन्धमा सार्वजनिक भएका सेड्युल मार्फत जानकारी लिन पनि अनुरोध गर्दछौं, अध्यक्ष पाठकले भनेका छन् ।

निफ र मिडियाको सम्बन्ध अन्योन्याश्रित छ । पहिलो निफदेखि अहिलेसम्म हामीलाई प्राप्त ‘मिडिया सपोर्ट’ उल्लेख्य मात्र छैन, तारिफ योग्य पनि छ । र, भविश्यमा पनि यस्तै ‘सपोर्ट’को अपेक्षा गर्छौं र गरिनै रहने छौं, अध्यक्ष पाठकले भने ।  

 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update