Kath khabar
बेलायती सरकारी उपकरणमा टिकटक प्रतिबन्ध


                               काठमाडौं, चैत ३ । बेलायती सरकारका मन्त्रीहरूलाई चिनियाँ स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप 'टिकटक' लाई आफ्नो कामका फोन र उपकरणहरूमा सुरक्षाको आधारमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ।

सरकारी फोनमा राखिएको संवेदनशील डाटा चिनियाँ सरकारले पहुँच गर्न सक्ने सरकारको डर छ । बेलायतको सुरक्षा चिन्तालाई ध्यानमा राख्दै बेलायत सरकारले चिनियाँ भिडियो एप 'टिकटक' को आधिकारिक फोनमा प्रयोग गर्न प्रतिबन्ध लगाएको हो । बेलायतको क्याबिनेट कार्यालयका मन्त्री ओलिभर डाउडेनले आफ्नो देशको संसदमा यो प्रतिबन्धको घोषणा गरेका हुन् ।

तर, यस टिकटक एपको स्वामित्वमा रहेको चिनियाँ कम्पनीले चिनियाँ सरकारसँग प्रयोगकर्ताको डाटा सेयर गरेको आरोपलाई अस्वीकार गरेको छ । बिहीबार चीनले अमेरिकामाथि गलत सूचना फैलाएको र टिकटकलाई दबाएको आरोप पनि लगाएको छ । कम्पनीले आफ्नो विज्ञप्तिमा बाइडेन प्रशासनले आफ्ना चिनियाँ मालिकहरूलाई लोकप्रिय भिडियो सेयरिङ एपमा आफ्नो सेयर बेच्न आग्रह गरेको बताएको थियो। यसैबीच डाउडेनले सांसदहरूलाई टिकटकले सरकारी डाटा र सूचना कसरी प्रयोग गर्ने भन्नेमा यस्तो जोखिम हुने सम्भावना रहेको बताए ।

उनले भने, “संवेदनशील सरकारी सूचनाको सुरक्षालाई प्राथमिकतामा राखेर सरकारी उपकरणमा यो एप (टिकटक) प्रतिबन्ध लगाइएको छ ।” साइबर सुरक्षा विज्ञहरूको सल्लाहमा यो कदम चालिएको पनि मन्त्रीले बताए । यो प्रतिबन्ध व्यक्तिगत फोन र उपकरणहरूमा लागू हुँदैन।

यसअघि अमेरिकी सरकारले गत महिना संघीय एजेन्सीका कर्मचारीहरूले सरकारले जारी गरेका सबै मोबाइल उपकरणहरूबाट टिकटक हटाउनु पर्ने आदेश दिएको थियो। अमेरिकी संसद, ह्वाइट हाउस, अमेरिकी सशस्त्र बल र अमेरिकाका आधाभन्दा बढी राज्यले यसअघि नै एपमाथि प्रतिबन्ध लगाएका थिए। युरोपेली संघ, बेल्जियम र अन्य धेरै देशहरूले पनि आफ्ना सरकारी कर्मचारीहरूको फोनबाट एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएका छन्।

 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update