Kath khabar

 

                      
           काठमाडौं, चैत ३ । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । लोक लयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा लोक गायिका शान्तिश्री परियारले उनलाई साथ दिएकी छिन् ।

गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन्। भिडियोमा उनीसँगै पहिलोपल्ट प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् । गीतको भिडियोमा चेलिबेटी बेचबिखनको सन्देशसमेत दिन खोजिएको छ । गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।

हरिवंशका अनुसार उनले यो गीते निर्देशक ओलीकै एनिभर्सरीका दिन लेखेका हुन् । ‘एक वर्षअघि म सरोज भाईको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटल तिब्बेतमा गएको थिएँ,’ हरिवंशले सम्झिए, ‘त्यहीबेला एक्कासी काउलीको प्रसङ्ग निस्कियो । मेरो मुखमा त्यसै ‘ए काउली, नचिने मान्छे आँखा झिम्काउली’ शब्द फुर्‍यो । त्यसपछि यसले गीतको स्वरुप पाएको हो । ’

गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको बताउँछन् आचार्य । ‘बिहे ब्रतबन्धतिर उफ्रिउफ्रि नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकहरु पनि उफ्रिउफ्रि नाच्न सक्नुहुनेछ,’ उनले भने । यो गीतको श्यामश्वेत रसाईलीले एरेन्ज र गम्भिर विष्टले भिडियो कोरियोग्राफी गरेका हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update