Kath khabar
ऐतिहासिक विस्केट जात्राको तयारी तीव्र रुपमा अघि बढ्दै

 

                भक्तपुर, चैत १४ । भक्तपुरमा ९ दिन ८ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको तयारी तीव्रताका साथ अघि बढेको छ । भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण तीव्रताका साथ अघि बढेको हो ।

रथ निर्माणका लागि बिभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको छ । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले ९ दिन ८ रातसम्म परम्परागत तान्त्रिक विधि अनुसार मनाउने बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुँदैछ।

जात्रा व्यवस्थापन समितिका अनुसार रथ तान्नका लागि बलियो र कसिलो डोरी ल्याउने तयारी गरिएको छ । रथ निर्माणमा खटिएका प्रेमलाल सिल्पकारले चैत्र २५ गतेसम्म रथ निर्माण कार्य सम्पन्न हुने बताएका छन् । नयाँ वर्षको ४ दिन अगाडि भैरवको रथ तानेर सुरु हुने जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ ।

चैत २७ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्न देखि रथ तान्ने क्रम सुरु गर्ने परम्परा रहेको छ । त्यस्तै वैशाख ५ गते जात्राको अन्तिम दिन सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ २ सय फिट लामो  ४/४ वटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ-आफ्नो टोलमा लैजान दुवैतिर तान्ने परम्परा छ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update