
काठमाडौं, चैत २४ । नेपालको पुरानो एवं चर्चित लोक संगीत ब्यान्ड मङ्गोलियन हार्टले १० वर्षपछि अष्ट्रेलियामा साङ्गीतिक यात्रा गर्ने भएको छ ।
नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा अष्ट्रेलियाको विभिन्न ८ सहरमा ब्यान्डले आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएको छ । अप्रिल १० बाट सुरु हुने साङ्गीतिक यात्राको लागि उक्त व्याण्डको टिम आज शुक्रवार अष्ट्रेलिया प्रस्थान गरिसकेको छ ।
१० वर्षपछि अष्ट्रेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित रहेको र दर्शक र श्रोतालाई सरप्राइज दिने हिसाबले तयारी गरेको ब्यान्डका म्यानेजर एवम् गिटारिस्ट बबि लामाले बताए । टुर व्यवस्थापक नेपाली टच अष्ट्रेलियाका सिइओ दीपेश पुनका अनुसार ब्यान्डको पहिलो साङ्गीतिक प्रस्तुत १० तारिखमा मेलबर्न सहरमा हुनेछ । त्यसपछि १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर टुङ्गिनेछ ।
३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक राजु लामा यस व्याण्डका प्रमुख गायक हुन् । उनीसँगै यस ब्यान्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।
१० वर्षपछि अष्ट्रेलियामा टुर गर्न पाउँदा ‘ज्यो ज्यो’ सहित मंगोलियन हार्ट उत्साहित छन् बबि लामाले भने । ‘ब्यान्डका पुराना र केही नयाँ गीत हामी त्यहाँ प्रस्तुत गर्नेछौँ । हामी अष्ट्रेलियासँगको हाम्रो पुरानो साङ्गीतिक सम्बन्ध फेरि रिन्यु गर्न पाउँदा साह्रै उत्साही छौँ ।’ ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरू हुन् ।
लोक, स्लो रक, पप मेलोडी सङ्गीतका लागि प्रिय रहेको यस व्याण्डले सन् १९९९ मा म्युजिक नेपाल गोल्ड मेडल, कान्तिपुर एफएम अवार्ड, हिट्स एफएम अवार्ड र इमेज अवार्ड सहित धेरै पुरस्कारहरू प्राप्त गरिसकेको छ।