
काठमाडौ, बैशाख १
यो बर्ष अर्थात सन् २०२१ मा नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (निफ) मा तीन वटा नेपाली चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा भाग लिने भएकाछन ।
आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवका लागि नेपाली चलचित्र लाटो कोसेरो, सरिता ११ बर्ष र आमा खान्डो फिचर फिल्म प्रतिस्पर्धाको लागि छानिएको बताउनुभयो । महोत्सबका लागि विश्वका विभिन्न ५२ देशबाट चार सय ५० चलचित्र प्राप्त भएको छ । आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरु मध्येबाट ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रस्तिस्पर्धाको लागि पहिले नै छनोट गरिएको थियो भने नेपाली प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी राखिएको थियो भने अब निफमा ६६ फिल्म देखाइने छन । माथि उल्लेखित तीन चलचित्र मध्यबाट एक चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट चलचित्रको एक लाख नगद पुरस्कार सहितको ट्रफी, उत्कृष्ट निर्देसक, लेखक, छायाकार,अभिनेता र अभिनेत्री ट्रफी पाउने छन ।
‘विश्वका कथाहरुको उत्सब’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि वितरण गरिने आयोजकको भनाई छ । कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले पाँच सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ ।
यसैगरी सर्वोत्कृष्ट बृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई सात सय ५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई पाँच सय डलर राशिको वाग्मती अवार्ड यथावतरुपमा प्रदान गरिनेछ । महोत्सव २०७८ बैशाख २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुनेछ ।