Kath khabar
मातातीर्थ मेला (आमाको मुख हेर्ने औँसी) को तयारी पूरा

 

                काठमाडौं, वैशाख ४ ।  आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

यही वैशाख ७ गते वैशाख कृष्णपक्ष औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा  गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेला सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर काम गरिएको जानकारी दिए ।

उनका अनुसार मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति बनाएर काम गरिएको छ । वैशाख ६ गते साँझ बत्ती बाल्ने र भोलिपल्ट औँसीका  दिनमा आमाको मुख हेर्ने तथा स्नान गर्ने भएकाले अघिल्लो दिनदेखि नै सोही क्षेत्रमा मेला लाग्ने अध्यक्ष उदासले बताए । यसपटक ५ लाखभन्दा बढी व्यक्तिले मेला भर्ने आयोजकको अनुमान छ ।

सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको संख्या समेत बढ्दै गएको छ । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीमा ठूलो मेला लाग्दै आएको चन्द्रागिरि नगरपालिका-८, मातातीर्थ कुण्डमा पछिल्लो समय श्राद्ध गर्न जानेको संख्या पनि बढ्दै गएको हो ।

मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ । मातातीर्थमा पछिल्लो समय आमाको श्राद्ध गर्न आउनेको संख्या बढेको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताए । 'काठमाडौंमा कोठा भाडामा लिएर बस्ने तथा नजिक घर भएका व्यक्ति आमाको श्राद्धका लागि मातातीर्थ कुण्ड आउने गरेका छन्, यहाँ दैनिक ८/१० जना श्राद्ध गर्न आउने गर्छन्,' अधिकारीले भने ।

संस्थाका अध्यक्ष उदासले आमालाई श्रद्धाभाव गरी पछिल्लो समय मातातीर्थ कुण्डको दर्शन गर्न आउने भक्तजनको संख्या वृद्धि भएको बताए । 'दर्शनसँगै यहाँ वार्षिक श्राद्ध गर्न आउनेको संख्या समेत बढ्दै गएको छ,' उनले भने । तर, यहाँको विकासका लागि स्थानीय सरकार र केन्द्रीय सरकारले कुनै सहयोग नगरेको उनको गुनासो छ ।

'मातातीर्थ क्षेत्रको एकीकृत विकासका लागि फनपार्क, पिकनिक स्पट र कुण्डभन्दा ८०० मिटरमाथि आमाको स्वर्गद्वारी निर्माणको कामलाई अगाडि बढाएका छौँ,' उनले भने ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update