Kath khabar
भारतको पञ्जाबबाटै पक्राउ परे अमृतपाल सिंह

 

               चण्डीगढ, वैशाख १० । लामो समयदेखि फरार रहेका खालिस्तान समर्थक अमृतपाल सिंहलाई भारतको पञ्जावबाटै पक्राउ गरिएको छ । २९ वर्षीय अमृतपाललाई पञ्जाब प्रहरी र इन्टेलिजेन्स ब्यूरोको संयुक्त अभियानमा पक्राउ गरिएको हो ।

पञ्जाब प्रहरी र सुरक्षा निकायले उनको खोजीमा निरन्तर लागेका थिए । अमृतपाललाई यसअघि नेपालमा लुकेर बसेको भारतीय दूतावासले दाबी गरेको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो । यही समयमा, पञ्जाब पुलिसले ट्वीट गरेर अमृतपाल सिंहको गिरफ्तारीको जानकारी दिएको छ। शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै सिंहले ‘वारिस पञ्जाब दे’ सङ्गठनको नामबाट गतिविधि गर्दै आएका थिए ।

अमृतपाल सिंह मार्च १८ देखि फरार थिए । अमृतपाल सिंह ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख हुन् । उनले छुट्टै देश खालिस्तानको माग गरिरहेका छन् । उनी केही दिनअघि दुबईबाट फर्किएका थिए । पञ्जाबी अभिनेता दीप सिद्धुले संस्था ‘वारिस पञ्जाब दे’ बनाएका हुन् । दीप सिद्धुको मृत्युपछि अमृतपालले कब्जा गरेका थिए ।

अमृतपालको भारत फिर्ता आइएसआईको योजनाको हिस्सा भएको बताइएको छ। अमृतपाल यस वर्ष फेब्रुअरी २३ मा पहिलो पटक चर्चामा आएका थिए । उनले आफ्ना नजिकका साथीलाई मुक्त गराउन हजारौं समर्थकसहित अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए । यस आक्रमणमा ६ प्रहरी घाइते भएका थिए । त्यसपछि उनले धेरै टिभी च्यानलमा दिएको अन्तर्वार्तामा अलग खालिस्तानको माग गरेका थिए ।

फरार हुँदा अमृतपाल सिंह पटियाला, कुरुक्षेत्र र दिल्लीलगायत धेरै ठाउँमा सीसीटीभी फुटेजमा बदलिएको लुकमा देखिएका थिए। यसका बाबजुद अमृतपाल सिंह प्रहरीको जालबाट निरन्तर बाहिर रहन सफल भए । सरकारले अमृतपाल सिंहलाई लगातार खालिस्तानी-पाकिस्तानी एजेन्ट भन्दै आएको छ।

फरारको क्रममा अमृतपालको दुई भिडियो र अडियो क्लिप सामाजिक सञ्जालमा देखा परेको थियो । ३० मार्चमा सार्वजनिक भएका उनका दुई भिडियोमध्ये एउटामा अमृतपाल सिंहले आफू फरार नभएको र चाँडै नै प्रहरीसमक्ष उपस्थित हुने कुरामा जोड दिएका थिए ।  अमृतपालले आफू देश छोडेर भाग्ने मानिसजस्तो नभएको दाबी गरेका थिए ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update