Kath khabar
विदेशमा रहेका श्रमिकका लागि सञ्चालित टेलिमेडिसिन सेवा प्रभावकारी हुँदै

 

              काठमाडौं, वैशाख १५ ।  वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि लक्षित गरेर सञ्चालन गरिएको ‘टेलिमेडिसिन’ सेवा प्रभावकारी देखिएको छ। सरकारले गत चैत १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि विशेषज्ञ सुविधा सहितको टेलिमेडिसिन सेवा सञ्चालन गरेको थियो।

त्यसयता विदेशमा रहेका १ सय ५६ श्रमिकले स्वास्थ्य सेवा लिएका वैदेशिक रोजगार बोर्डका निर्देशक राजन पौडेलले जानकारी दिए। मध्यपूर्व र मलेसियामा काम गर्दै आएका श्रमिकले टेलिमेडिसिन मार्फत सेवा लिएका छन्। ४ जनालाई विशेषज्ञ चिकित्सक मार्फत स्वास्थ्य सेवा प्रदान गरिएको छ।

वैदेशिक क्षेत्रमा रहेका श्रमिकका लागि सञ्चालनमा ल्याइएको टेलिमेडिसिन सेवाको प्रभावकारिता विस्तारै बढ्दै गएको पौडेलको भनाइ छ। बोर्डले वीर अस्पतालसँग समन्वय गरेर सो सेवा सञ्चालन गर्दै आएको छ। साताको २ दिन विशेषज्ञ सेवा र सार्वजनिक बिदाका दिनबाहेक सामान्य चिकित्सकीय सेवा प्रदान हुँदै आएको छ। 

हरेक आइतबार र शुक्रबार विशेषज्ञ चिकित्सकले श्रमिकलाई स्वास्थ्य सेवा दिनेछन् भने अन्य दिन एमबिबिएस गरेका चिकित्सकले सेवा दिँदै आएका बोर्डले जनाएको छ। एमबिबिएस चिकित्सकले श्रमिकका लागि विशेषज्ञ सेवा आवश्यक परे विशेषज्ञ चिकित्सकसमक्ष सिफारिस गर्ने गरेका छन्। आइतबार र शुक्रबार श्रम गन्तव्य मुलुकमा सार्वजनिक बिदा पर्ने भएकाले सो दिन विशेषज्ञ सेवा उपलब्ध गराइएको बोर्डले जनाएको छ।

टेलिमेडिसन मार्फत सेवा लिने श्रमिकलाई विभिन्न स्वास्थ्य समस्याको उपचार, औषधिको सिफारिस र मनोपरामर्श प्रदान गरिँदै आइएको छ। बिरामी श्रमिकले सम्पर्क गरेको ह्वाट्सएप तथा भाइबरमा चिकित्सकले औषधि सिफारिस गर्ने गरेको बोर्डका निर्देशक पौडेलले जानकारी दिए। बिरामी श्रमिकले चिकित्सकले प्रस्ताव गरेका औषधि नेपाली बजारबाट खरिद गरेर लैजानुपर्ने उनको भनाइ छ। 

सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन २ गते टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको थियो। 

टेलिमेडिसिन सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरको भाइवर र ह्वाट्सएप लगायत सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन्। वैदेशिक रोजगारीको सिलसिलामा हाल १ सय ५० भन्दा बढी मुलुकमा नेपाली श्रमिक रहेका छन्।

श्रोत:रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update