Kath khabar
नेवारी समुदायको यस्तो पूजा जहाँ चल्दैन राँगाको मासु 

 

             काठमाडौं, वैशाख १७।  नेवारी समुदायमा राँगाको मासु अपरिहार्य कुरा हो । तर एउटा यस्तो पूजा छ जसमा राँगाको मासु चल्दैन । नेवारी समुदायमा दिगुपूजा (देवाली) वैशाख शुक्ल पक्ष अक्षय तृतीयाका दिनदेखि कुमार षष्टी अर्थात् सिथिनःखका दिनसम्म मात्र आइतबार बिहीबारका दिन मनाउने गरिन्छ । यो पूजामा राँगाको मासु नचल्ने गरेको संस्कृतिका जानकारहरू बताउँछन् । 

धरतीपुत्र नेवारहरू आफ्ना पृथ्वी मातालाई कृतज्ञता प्रकट गर्न वर्षको एक दिन देवाली (दिगु पूजा) स्वरूप पूजाअर्चना गर्छन् । देवालीको दिनमा नेवारी संस्कृतिमा राँगाको बलि किन नचढाइएको हो त्यसको मासु किन वर्जित गरिएको भन्ने सम्बन्धमा लोक संस्कृतिविद् ओमभक्त धौभडेल भन्छन्, “नेवारहरूको दिगुपूजा (देवाली) प्राचीनका देखि चलिआएको हो । पहिले काठमाडौं उपत्यकामा राँगोरूपी जनावर नपाइने हुनाले त्यसको बलि चढाउने प्रथा नबसेको हो । पछि सिम्रौनगढ (तराई) बाट तुलजा भवानी काठमाडौं उपत्यका भित्रिएसँगै राँगा पनि भित्रिएको मानिन्छ । दिगुपूजामा कुखुराको बलि र मासु पनि खाइन्न । किनभने कुखुरा कुपंक्षीको श्रेणीमा पर्दछ । नेवार संस्कृतिमा राँगाको बलि र मासु धेरैपछि मात्र भित्रिएको हो ।”

नेवारी खानामा राँगोको मासुको दावीहीन अवस्थामा भन्नुपर्दा करिब ६२ प्रकारका परिकार बनाउने प्रचलन छ । त्यसमध्ये ड्याकुला, छुया ला, जँः ला, बुः ला, चुँ ला, कःचिला, सन्या खुना, सियागु ला लगायतका परिकार नेवार त के गैर नेवारी जातिमा पनि प्रख्यात रहेको छ । राँगोको मासुविना नेवारी खाना पूर्ण हुँदैन । तर यही पूजामा भने राँगो प्रतिबन्ध रहेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update