Kath khabar
एसीसी प्रिमियर कपमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका क्रिकेट खेलाडीहरू सम्मानित


             काठमाडौं, वैशाख २० । राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी हालै सम्पन्न “एसीसी प्रिमियर कप–२०२३” लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका छ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको छ ।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबीच उहाँहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मान गर्नुभएको हो । सम्मानित हुने खेलाडीहरूमा प्रहरी कर्मचारीहरू नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठन र राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी भई हालै सम्पन्न भएको एसीसी प्रिमियर कप–२०२३ मा उत्कृष्ट प्रदर्शन गरी विजयी हासिल गरेकोमा बधाई दिनुभयो। राष्ट्र एवम् संगठनको छवि अझ उच्च गर्नमा आगामी दिनमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको लागि उहाँले शुभकामना समेत दिनुभयो ।

एसीसी प्रिमियर कप–२०२३ मा नेपाल प्रहरीका खेलाडीहरूको उत्कृष्ट प्रदर्शन तथा राष्ट्रिय सम्मान अभिवृद्धिमा गरेको योगदानको नेपाल सरकारले पनि उच्च मूल्याङ्कन गरेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका खेलाडीहरूको मनोबल उच्च गराउन, क्षमता अभिवृद्धि गर्न र वृत्तिविकासका लागि संगठन सदैव क्रियाशील रहेको उल्लेख गर्नुभयो ।     

कार्यक्रममा सम्मानित खेलाडीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै कुशल भुर्तेलले नेपाल प्रहरी संगठनको प्रतिनिधित्व गरी सफलता प्राप्त गरेकोमा धेरै गौरव महसुस गरेको बताउनुभयो । साथै आउँदा दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update