Kath khabar
जेठ ८ गते जुर्‍यो मच्छिन्द्रनाथको रथलाई जावलाखेल लैजाने साइत, ११ गते भोटो देखाइने

 

                 ललितपुर, वैशाख २८ ।  रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ तान्ने लगन जुरेको छ । लगनखेलमा पुर्‍याएपछि रथ तान्ने साइत हेर्न थालेका ज्योतिषहरुले जेठ ८ गते दिउँसो ३ बजेर ४९ मिनेटको लागि समय जुराएका हुन् । 

वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । विद्या, धन सम्पत्ति, शान्ति समृद्धि लगायत सबै कुरा मागे पनि मेरो रूप रङ्ग राम्रो होस् भनेर माग्न नहुने संस्कृति विद्हरू बताउँछन् ।

लगनखेलसम्म लगे पनि लगनखेलबाट जावलाखेलमा लगेर भोटो देखाएपछि रथयात्रा औपचारिक रुपमा सम्पन्न हुने गर्छ । तर जावलाखेलसम्म पुर्‍याउनको लागि भने साइत जुराउनै पर्ने चलन रहेको छ । 

मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थी (२ महिना) सम्म चल्छ । मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुलचोकमा रथारोहण गरी शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल, कुमारीपाटी हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ । 

भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टंगल लगिनेछ । पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update