Kath khabar
नेपालमा उत्पादन भएको पहिलो सवारीका रुपमा दर्ता भयो यात्री मोटरसाइकल 

 

                काठमाडौं, जेठ २ ।  गत वर्ष २०२२ को १५ मेमा यात्री मोटरसाइकलले पहिलो पी-१ बाइक ग्राहकलाई डेलिभर गरेको थियो, संयोगले त्यसको १ वर्षपछि आज १५ मे मै यात्रीको पी-१ मोटरसाइकल नेपालमा उत्पादन भएको पहिलो सवारीका रुपमा दर्ता भएको छ । पी-१ यात्रीले नेपालमै उत्पादन गरिहरेको विद्युतीय मोटरसाइकल हो ।

यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल)मा पी-१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी-१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको हो । यो सँगै आयातको कागज विनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।

सवारी दर्ता भएर नम्बर प्लेट र ब्लुबुक पाएपछि यात्रीले १ वर्षको बीचमा ‘पी-१’ देखि ‘स्पेसल सिरिज-१’सम्मको यात्रालाई स्मरण गरेको छ । ‘हामीसँग यो इतिहास रच्नका मद्दत गर्ने हाम्रा विशेष प्रयोगकर्ताहरू प्रति सधैं कृतज्ञ छौं,’ यात्रीले भनेको छ । कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहित यातायात व्यवस्था विभाग र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ ।

विभागका अनुसार १४ वैशाखमा निर्देशिका संशोधनम गरी नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएपछि यात्रीले मूल्य अभिवृद्धि कर (भ्याट) बिल, अन्तःशुल्क निकासी फारमका आधारमा बाइक दर्ता हुन पाएको हो । यसअघि नेपालमा हुलास मोर्टसले बनाएका ‘मुस्ताङ’ लगायतका सवारीको च्याचिस लगायतका पार्ट विदेशबाट आयात गरी सोही प्रज्ञापनपत्र (एलसी)का आधारमा नेपालमा दर्ता हुन दिइएको थियो । यसअनुसार नेपालमा बनेपनि ती सवारीको दर्ता भन्सार प्रज्ञापन पत्रकै आधारमा हुन्थ्यो ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update