Kath khabar
तुलसीपुरको मेट्रो कलेजमा संविधान सम्बन्धी बहस


                          तुलसीपुर, जेठ ८ । तुलसीपुर मेट्रो कलेज बिएएलएलबी अध्ययनरत विद्यार्थीहरूले संविधान निर्माण प्रक्रिया र यसको कार्यान्वयनका अवस्थाका बारेमा छलफल गरेका छन् ।

संविधानविद् खिमलाल देवकोटासँग विद्यार्थीहरुले संविधानको परिपालनामा देखिएको समस्याका बारेमा छलफल गरे । ‘संविधानले मौलिक हकका बारेमा उल्लेख गरेको भएपनि किन कार्यान्वयन भएको छैन, के संविधानमा लेखेर मात्रै अधिकार प्राप्त हुन्छ ?’ विद्यार्थी प्रकाश वलीले प्रश्न राखेका थिए  ।

संविधानले राज्यलाई जिम्मेवार बनाउनुका साथै जनताका आवश्यकता पुरा गर्ने हैसियतमा लैजाने बताउँदै संविधानविद् देवकोटाले संवैधानिक अधिकारको ग्यारेन्टी गराउनका लागि राज्यलाई जिम्मेवार बनाउनुपर्ने कुरामा जोड दिए । ‘राज्यले संविधानमा उल्लेख गरेका कुराहरु नागरिकलाई उपलब्ध गराउनका लागि हैसियत बढाउँदै लैजानुपर्दछ’ देवकोटाले भने ।

सानो देशलाई संघीयतामा लगेर खर्चिलो बनाएको समिर पोख्रेलको जिज्ञासाको जवाफ दिदै संविधानविद् देवकोटाले संघीयता देशको आधार र जनसङ्ख्याका आधारमा मापन नहुने बताए । उनले विश्वका ठूला ठूला मुलुकमा पनि संघीयता नभएको तर अत्यन्त साना मुलुकमा पनि संघीयता भएको उदाहरण दिएका थिए । ‘हामीले संघीयतालाई कत्तिको अधिकार सम्पन्न बनाएर लैजान्छौ भन्ने कुरा महत्वपूर्ण हो ’ संविधानविद् देवकोटाले भने ।

स्थानीय तहमा कानुनी अधिकार भन्दा पनि मेलमिलापको अधिकार दिइएको बताउँदै स्थानीय तहका पदाधिकारीहरूले सोही अनुसार कार्यसम्पादन गर्नुपर्ने उनको भनाई थियो । ‘स्थानीय तहले मेलमिलाप गराउने हो तर यहाँ कानुनी काम पनि भइरहेको छ यसले जनतामा भ्रम फैलँदै गएको छ ’ संविधानविद् देवकोटाले भने ।

एक अर्को प्रसंगमा बोल्दै संविधानविद् देवकोटाले नेपालको संविधान जनताको सहभागितामा बनाइएकाले नमुना भएको बताउँदै संविधान निर्माणका क्रममा धेरै दवाब सिर्जना भएको पनि बताए ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update