काठमाडौ, बैशाख १
यतिखेर नेपालमा पनि दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने चर्चा चलेको छ । यही ‘नेपाली अर्जुन रेड्डी’ को भूमिकामा आफूलाई उभ्याउन लागि पर्नुभएको छ, अभिनेता शेखर सुवेदी । फेशन शोबाट चलचित्र क्षेत्रमा सुवेदीले अभिनयमा डिप्लोमा गर्नुुभएको छ ।
गाजाबाजा, निर्भय, चीँ मुसी चीँ लगायतका फिल्म र एक दर्जनबढी म्युजिक भिडियोमा अभिनय गरेका उनी ट्यालेन्टका आधारमा कलाकार छनोट गर्ने परम्परा फिल्म क्षेत्रमा बस्नुपर्नेमा जोड दिनुुहुन्छ । केही नेपाली चलचित्रमा अभिनय गरिसकेको भए पनि सुवेदी मुख्य भूमिकामा भने देखिएको भएको छैन ।
हिन्दी रिमेकमा कबीर सिंहका रुपमा आएको दक्षिण भारतीय चलचित्र अर्जुन रेड्डीको नेपाली रिमेकको अडिसन कलाकारका लागि ‘अवसर’ बन्ने विश्वास अभिनेता सुवेदीको रहेको छ । ‘यसअघि पनि मैले थुप्रै अडिसन दिएको छु तर अडिसन चाँहि औपचारिकताका लागि मात्रै हुने तर कलाकार अर्के बाटोबाट सम्झौता गर्ने गरेको पाएँ, यसपटक यो चर्चित प्रोजेक्ट भएकाले अडिसनबाटै कलाकार छनोट हुने विश्वासमा छु’ सुवेदीले भन्नुुभयो ।
अडिसनका लागि कलाकारलाई तोकिएको उमेर लगायतको मापदण्ड अनुसार आफू फिट रहेको उहाँको दाबी छ । ‘फिल्मका लागि माग भएको जस्तो मेरो लुक्स, उमेर र अभिनय छ भन्ने मलाई लागेको छ’ । उहाँले नेपालमा चर्चामा रहेका कलाकारहरु अडिसनका लागि नजाने र नयाँ अनुहार खोजी गरिरहेको निर्माण टोलीलाई दक्षिण भारतीय कलाकारको जस्तो देखिने आफ्नो लुक्सले अझ बलियो दाबेदारका रुपमा पेश गर्ने विश्वास व्यक्त गर्नुभयो ।