Kath khabar
ग्याष्ट्राइटिस (ग्याष्ट्रिक) बेवास्ता गर्नाले हुनसक्छ भविष्यमा क्यान्सर

 

                    काठमाडौं, जेठ ८ । हाम्रो पेटको ग्याष्ट्रिक ग्ल्यान्डले खाना पचाउनका लागि ग्याष्ट्रिक रस निष्कासन गर्छ । सो रस सामान्यभन्दा बढी निष्कासन भयो भने अथवा अन्य कुनै कारणबस पेटमा बढी एसिड जम्मा भयो भने ग्याष्ट्रिक हुने गर्दछ । मानिसहरूले यसलाई सामान्य रुपमा लिन्छन् । तर, यसको समयमै ख्याल नगरेमा अल्सर र अल्सरबाट क्यान्सर हुने सम्भावना अत्यधिक रहन्छ ।

खासमा ग्याष्ट्रिक भन्ने रोग हुँदैन तर ग्याष्ट्राइटिस चाहि रोग हो । आमाशयको भित्रको लाईनिङ हुन्छ त्यो लाईनमा हामीले खाने खाना जस्तै चिल्लो पिरो, औषधि, धुम्रपान र मद्यपान जस्ता खानेकुराहरुले गर्दा आमाशय सुनिने गर्छ । त्यसलाई नै ग्याष्ट्राइटिस भनिन्छ ।

प्रायः मानिसहरुमा ग्याष्ट्राइटिस खानाकै कारणले गर्दा मात्र हुन्छ भन्ने धारणा रहेको पाईन्छ तर यो गलत हो । नेपालीहरु ८० प्रतिशत ग्याष्ट्राइटिस हेलिको पाइलोरी ब्याक्टेरिया ईन्फेक्सनको कारणले हुने गर्छ । हामीले खाने खाना र पानीको माध्यम हुदै ब्याक्टेरिया पेटभित्र आफू बस्न मिल्ने ठाउँ खोज्छ र घर बनाएर आमाशयसँग जोडिएर बस्छ । यसले बिस्तारै आफ्नो लक्षणहरु देखाउदै जान्छ। खानाको पाइप हुन्छ त्यसमा गएर यसले सोइलिगं गराउँदा देखिने लक्षणलाई  नै ग्याष्ट्राइटिस हो भन्न सकिन्छ ।  

ग्याष्ट्राइटिस विभिन्न कारणले हुने गर्दछन् । नेपालको परिवेशमा हेर्दा ईन्फेक्सनको कारणले ग्याष्ट्रिक हुन्छ भन्ने एकिन तथ्याकं आजसम्म पत्ता लागिसकेको छैन । तर ७० देखि ८० प्रतिशत मानिसमा ग्याष्ट्राइटिस हेलिको पाइलोरी ब्याक्टेरियाको ईन्फेक्सनले हुने गर्छ । हामीले कहिलेकाहि शरीर दुख्यो, टाउको दुख्ने, हडिहरु दुख्ने, रगत पातलो बनाउँने औषधिहरु खाने गर्छौ त्यो गएर आमाशयको लाईनिङ्गमा बस्छ र ग्याष्ट्राइटिस गराउँन मद्धत गर्छ ।

त्यस्तै, अनावश्यक खानेकुराहरु जस्तै जाड रक्सी, जंकफूडहरुले पनि ग्याष्ट्राइटिस हुने गर्छ तर ग्याष्ट्राइटिस हुने मुख्य कारण भनेको  खानपान भन्दा पनि ब्याक्टेरियाको ईन्फेक्सन नै हो ।

हाम्रो पेटमा पहिलाबाट नै ब्याक्टेरिया बसेर सुनिएको छ भने हामीले खाने चिल्लोपिरोले अझै समस्या निम्त्याउँन सक्छ । त्यसले गर्दा थोरै खाने बित्तिकै पनि पेट फुल्ने, दुख्ने डकार आउँने, अमिलो पानी जम्मा हुने हुन्छ ।

शरीर भित्र त्यो ब्याक्टेरिया हुने बित्तिकै लक्षण देखिन्छ भन्ने हुँदैन । यस रोगको लक्षण कस्तो अवस्थामा देखिन सक्छ भन्ने कुरा व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा भर पर्छ । प्राय जसो सबैमा ग्याष्ट्राइटिस भइसकेपछि पेट फुल्ने, पेट दुख्ने, पेट पोल्ने, थोरै खाए पनि पुग्ने, खाना नरुच्ने जस्ता लक्षणहरु देखिन्छन् ।

यसमा पनि उमेर समुह हुने गर्छ । ५० वर्ष भन्दा माथिको उमेर समुहका मानिसहरुमा कसैको परिवारको सदस्यमा ग्याष्ट्राइटिस क्यान्सरको हिष्ट्रि छ भने पनि सजक हुनु पर्छ ।  त्यस्तै, बिनाकारण तौल घटिरहेको छ, कतैबाट रगत बगेर रगतको कमी देखियो, उल्टि भइरहेमा यसलाई खतराको घण्टी मान्नु पर्ने हुन्छ । यस्ता खाले लक्षणहरु देखिदा सकेसम्म छिटो उपचार गर्नु पर्ने हुन्छ ।

ग्याष्ट्राइटिस हुने बित्तिकै मानिसको मृत्यु नै भईहाल्छ भन्ने होइन यसले अन्य समस्याहरु निम्त्याउँने सम्भावना बढाउदै लैजान्छ भनेर हामीले बुझ्नुपर्छ । जस्तै, ग्याष्ट्राइटिस भएपछि अल्सर र अल्सर पछि क्यान्सर पनि हुन सक्छ ।

ग्याष्ट्राइटिसको औषधि सजिलैसँग पसलहरुमा पाईन्छ। धेरैजसो मानिसहरुले पेटमा केहि समस्या देखिए वा ग्याष्ट्राइटिसका केहि लक्षणहरु देखिने बित्तिकै फार्मेसिमा गएर औषधि किनेर खाने गरेको  पाइन्छ । यो बानि एकदम गलत हो कारण नै पत्ता नलगाई जथाभावि रुपमा फार्मेसिमा गएर औषधि किनेर खानाले भविष्यमा नराम्रो रुप लिन सक्छ ।

ग्याष्ट्राइटिस ब्याक्टेरियाले भएको भए फार्मेसिबाट औषधि किनेर खाँदा केहि समयको लागि ठिक होला तर सधैका लागि सन्चो हुनका लागि इराइटिकल गर्नुपर्ने हुन्छ । ब्याक्टेरियाले गराएको ग्याष्ट्राइटिसको उपचार त छुट्टै हुन्छ । समयमै उपचार नगरि आफै घरमै औषधि किनेर खाँदा पछि गएर अल्सरको रुप लिने गर्छ ।

ग्याष्ट्राइटिस भएपछि सुरुमा सामान्य लक्षणहरु देखिने गर्छ । त्यसलाई बेवास्ता गरे ब्याक्टेरियाले भित्र भित्रै असर गर्दै घाउँ (अल्सर) बनाइ सकेको हुन्छ त्यो घाउँमा असर पुर्याउने जोखिम कारक तत्वहरु पटक पटक गए अल्सरले क्यान्सरको रुप पनि लिन सक्छ ।

लामो समयसम्म ग्याष्ट्राइटिससलाई बेवास्ता गरे भने भविष्यमा क्यान्सर पनि हुन सक्छ । कुनै व्यक्तिलाई अल्सर भइसकेको छ । सो व्यक्तिलाई क्यान्सर भएको छ वा छैन थाहा पाउनका लागी इन्डोस्कोपी गरेर सानो मासुको टुक्रा लिएर जाचँ गर्नुपर्ने हुन्छ । अल्सरका पनि प्रकारहरु छन् । तर प्रायः अल्सर हुँदा क्रोनिक रुपमा पेट दुख्ने खाना रुचि नहुने, कालो दिसा आउँने, बान्ता आउँने, तौल घट्ने हुन्छ ।

हामीले यस्ता खाले समस्याहरु लाग्नै नदिनका लागि आफ्नो जिवनशैली परिर्वतन गर्नुपर्ने हुन्छ । खानाखानुभन्दा अगाडि सफासँग हात धुने, सफा पानी पिउँने, खाली पेट नबस्ने , थोरै थोरै पटक पटक खाइरहने, जंगफुडहरु नखाने, धुम्रपान मद्यपान नगर्ने, एसिडिटी घटाउनुपर्छ ।

ग्याष्ट्राइटिसको करण पत्ता लगाएर समयमै उपचार गर्न सकियो भने यसले निम्त्याउँने विभिन्न खाले समस्याहरुबाट बच्न सकिन्छ । (डा.बरुण कुमार शाह)

 

 

 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update