Kath khabar
‘गोर्खा वारियर’ को प्रिमियर लिसेस्ट स्क्वायर लन्डनको ‘आइम्याक्स सिनेवर्ल्ड’ मा



                    काठमाडौं, जेठ ९ । चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आइम्याक्स सिनेवर्ल्ड’ मा गरिने भएको छ ।

त्यहाँ नेपाली चलचित्रकै इतिहासमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो प्रिमियर सन् २०२३ सेप्टेम्बर १० आइतबार गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ । यो प्रिमियरमा दुई हजार दर्शकलाई चलचित्र ‘गोर्खा वारियर’ देखाइने यस चलचित्रका निर्माता एवम् निर्देशक मिलन चाम्सले बताएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै निर्देशक मिलन चाम्सले भने,‘नेपाली चलचित्रलाई विश्वव्यापी बजारमा पुर्याउने नेपालीहरुले देखेको सपनालाई चलचित्र ‘गोर्खा वारियर’ मार्फत अब साकार पारिने भएको छ ।

नेपालीहरु साहसीको रुपमा विश्वमा चिनाउन सफल नेपाली गोर्खा सैनिकको वीरगाथामा यो चलचित्र आधारित रहेको छ ।’ यसरी लिसेस्ट स्क्वायर लन्डनको ‘आइम्याक्स सिनेवर्ल्ड’ मा गरिने चलचित्र ‘गोर्खा वारियर’को यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवार, सांसदहरु, स्थानीय निकाय प्रमुखहरू, बेलायती सैनिकका जनरल, ब्रिटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदूतावास, काउन्सिलका पदाधिकारीहरु, विभिन्न सरकारी र गैर सरकारी संघ संस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको छ । यस्तै नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिहरूलाई पनि सो प्रिमियरमा निमन्त्रणा गरिएको जानकारी गराउँदछौँ ।

निर्देशक चाम्सका अनुसार यसरी लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवर्ल्ड ’मा चलचित्र ‘गोर्खा वारियर’लाई रेड कार्पेट प्रिमियर गर्नुको उद्देश्य नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउनु नै हो,‘यो प्रिमियरको खर्च निकै छ । जसबाट एउटा नेपाली चलचित्र नै निर्माण गर्न सकिन्छ। तथापि नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउनका लागि मार्केटिङको यो बाहेक अरु विकल्प हामीले देखेनौं ।’

हलिउडको ३०० मिलियन अमेरिकी डलरमा बनेका सिनेमा पनि लिसेस्ट स्क्वायर लन्डनको ‘आइम्याक्स सिनेवर्ल्ड’मा प्रिमियर हुन्छ । नेपाली चलचित्रलाई त्यहाँ प्रिमियर गर्न आफूले २० वर्ष अघि देखेको सपना बल्ल पुरा हुन लागेको पनि निर्देशक चाम्सले कार्यक्रममा बताए,‘यो नेपाली चलचित्र उधोगकै लागि गौरवको कुरा हो । अर्को तर्फ अन्तराष्ट्रिय बजारमा नेपाली चलचित्रलाई पुर्याउनका लागि यो अन्तराष्ट्रिय स्तरकै उपयुक्त विषयवस्तु भएकाले पनि हामीले यो साहस गरेका हौं ।’

यसरी लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवर्ल्ड’बाट सुरु भएको चलचित्र ‘गोर्खा वारियर’को प्रिमियरलाई सेप्टेम्बर महिना भरी निरन्तरता दिइने भएको छ । तसर्थ सेप्टेम्बर २०२३ लाई ‘गोर्खा वारियर’को प्रिमियर महिनाको रुपमा मनाइने भएको छ । यो चलचित्रलाई बेलायतपछि हङकङ, सिँगापुरलगायत विभिन्न देशमा पनि सेप्टेम्बर महिनाभरी प्रिमियर गर्ने तयारी भइरहेको पनि निर्देशक चाम्सले जानकारी गराए । सो पत्रकार सम्मेलनमा बोल्दै कलाकार विजय लामाले आफूले अहिलेसम्म काम गरेको चलचित्र मध्य गोर्खा वारियर सबैभन्दा ठुलो महत्वको चलचित्र भएको बताए ।

सन् १९४९ को ‘मलाया इमर्जेन्सी जंगल वार’मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई यो चलचित्रमा उतारिएको छ । चलचित्र गोर्खा वारीयर नेपाली, अँग्रेजी र हिन्दी गरी तीन भाषामा रिलिज हुँदैछ । यो फिल्मलाई हलिउडको वितरक कम्पनीले विश्वव्यापी वितरण गर्दैछ । यसको हिन्दी र अंग्रेजी संस्करण पनि अन्तिम तयारी अवस्थामा छ ।  

चलचित्र ‘गोर्खा वारियर’को पोष्ट प्रोडक्सनको कार्य यतिबेला भारतको मुम्बई र बेलायतको लन्डनस्थित स्टुडियोमा भइरहेको छ । यो चलचित्रलाई हलिउड स्तरको बनाउने प्रयास भइरहेको पनि उनले बताए । यस अघि टिजर रिलिजपछि राम्रो हाईप बनाएको चलचित्रलाई अब लन्डनबाट गरिने प्रिमियरले विश्वव्यापी चिनाउने पनि उनले बताए ।

‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै ‘गोर्खा वारियर’मा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ ।  

‘गोर्खा वारियर’मा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिदाको मार्मिक कथा पनि समेटिएको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update