Kath khabar
भोलि भोटो जात्रा, आज मच्छिन्द्रनाथ र मीननाथलाई ८ पाथी चामलको भात पकाएर चढाईँदै 
तस्विर : फोटोखिचुवा

 

                ललितपुर, जेठ १० ।  वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा भोलि हुँदैछ ।

अस्ति सोमवार रथलाई लगनखेलबाट तानेर जावलाखेल ल्याएकाले भोलि भोटो जात्रा हुने तय भएको हो । रथ जावलाखेल ल्याएको ४ दिनमा भोटो देखाइने परम्परा छ । अहिले जावलाखेलमा रातो मच्छिन्द्रनाथ र मीननाथको दर्शन गर्न भक्तजनको घुईंचो लागेको छ ।

आज दिउँसोे रातो मच्छिन्द्रनाथको रथमा भात चढाएर विशेष पूजा गरिनेछ । हरेक वर्ष भोटो जात्राको एक दिन अगाडि मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पूजा गर्ने गरिन्छ । 

पुल्चोकको पाटीमा ८ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाएपछि रथबाट चारै दिशामा फर्केर छर्किने गरिन्छ । नेपालभाषामा 'जा' भनेको भात र 'व्हला' भनेर छर्किने चलन छ । त्यसरी भात छर्किने ठाँउ भएकोले जावलाखेलको नाम रहन गएको मान्यता छ ।

भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ ।गएको वैशाख ११ गते पुल्चोकबाट रथ तानेर शुरु भएको यस वर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा भोटो जात्रासँगै भोलि सकिनेछ । 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update