Kath khabar
अब नेपाल एअरलाइन्सले ११ हजार ४ सय ६१ रुपैयाँमै भैरहवा मलेसिया उडाउने

 

              काठमाडौं, जेठ १० ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्सले) मलेसियाबाट भैरहवा उडानका लागि प्रवर्द्धनात्मक भाडा घटाएको छ । निगमले मलेसिया भैरहवा उडानका लागि ११ हजार ४ सय ६१ रुपैयाँ भाडादर कायम गरेको छ । यसअघि निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार ७ सय रुपैयाँ तोकेको थियो ।

यस्तै निगमले मलेसिया भैरहवा काठमाण्डौ उडानको प्रवर्द्धनात्मक भाडादर पनि घटाएको छ । यसअघि निगमले यस उडानको भाडादर १४ हजार ७ सय २० रुपैयाँ कायम गरेकोमा घटाएर १२ हजार ३ सय ४६ रुपैयाँ कायम गरेको छ ।

निगमले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान शुरु गर्दैछ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट शुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरु गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update