Kath khabar
टुँडिखेलमा विशेष समारोहकाबीच यसरी मनाइयो गणतन्त्र दिवस

            
               काठमाडौं, जेठ १५ । आज १६औँ गणतन्त्र दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भएका छन् । गणतन्त्र मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका हुन् ।

सो अवसरमा पुष्पवृष्टि तथा ‘गणतन्त्र दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । सोही अवसरमा काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रका परम्परागत साँस्कृतिक झाँकी समेत निकालिएको थियो ।

सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विशेष समारोहमा मार्च प्याट प्रदर्शन गरेका थिए । नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले राष्ट्र र राष्ट्रियताको भावना झल्काउने गीतरव्यक्ति प्रस्तुत गरेको थियो ।

सो अवसरमा उपराष्ट्रपति रामसहयप्रसाद यादव, कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठको समेत उपस्थिति थियो ।

विशेष समारोहमा मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, उच्चपदस्थ सरकारी अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु तथा विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन र रेडियो नेपालले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update