Kath khabar
सहारा ग्रुप पाचौँ सगरमाथा म्युजिक अवार्ड २०८० हुने



                काठमाडौं, जेठ १६ । पाचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौँ संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ । ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ ।

सगरमाथा म्युजिक अवार्डका चार संस्करण भव्य रुपमा सम्पन्न भइसकेको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको अवार्डमा २०७९ बैशाखदेखि चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।

सहारा ग्रुप पाचौँ सगरमाथा म्युजिक अवार्ड २०८० मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्नेछन् । अवार्डमा नेपाली गीत सङ्गीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ। गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई समेत सम्मान गरिने आयोजक संस्था अर्थ नेपाल प्रालिले जनाएको छ । त्यसै एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान गरिने छ ।  

अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेबसाइटबाट भर्न सकिने आयोजकले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update