Kath khabar
चुरोट, सुर्तीको लत छुटाउन चाहनु हुन्छ ? अब वीर अस्पताल तपाईंको गन्तब्य हुनसक्छ

 

              काठमाडौं, जेठ १९ ।  के तपाईँ चुरोट, सुर्ती खैनी लगायत सुर्तीजन्य पदार्थको लत छुटाउन चाहनुहुन्छ ? यदि हो भने वीर अस्पतालले चुरोट, खैनीको लत छुटाउनका लागि उपचार सेवा सञ्चालन गरेको छ । 

अस्पतालले विश्वभर नै विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसर पारेर ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ उपचार पद्धति शुरु गरेको छ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले चुरोट, खैनी, सुर्तीको कुलतमा फसेका लागि छुटाउनका लागि ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ शुरु गरिएको जानकारी दिनुभयो । 

थेरापीमा चुरोट सुर्ती खैनीको लतमा फसेकालाई छुटाउनका लागि निकोटिन चुइगम दिइन्छ र त्यही चुइगमको सहयोगले लत छुटाउने उहाँले बताउनुभयो । थेरापीमा चुरोट, खैनी र सुर्तीको सट्टा मानिसलाई निकोटिन चुइगम दिइन्छ । 'मानिसले कति चुरोट सुर्ती खान्छ । त्यहीअनुसार मात्रामा निकोटिन चुइगम दिइन्छ', उहाँले भन्नुभयो, 'चुइगममा निकोटिन हुन्छ । मानिसलाई लत लगाउने काम निकोटिनले गर्दछ । त्यही लत हटाउनका लागि मानिसलाई चुइगम दिइन्छ ।'

उहाँले मानिसमा इच्छाशक्ति भएपछि चिकित्सको परामर्शमा लत छुटाउने व्यक्तिलाई विस्तार निकोटिन चुइगमको माध्यमबाट लत छुटाउन सकिने बताउनुभयो । 

'चुरोट, सुर्ती र खैनीको सट्टा चुइगम खान दिइन्छ । चुइगमले लत केही हदसम्म घटाउँछ । अनि बिस्तारै ती मानिसलाई चुइगमको कारणले चुरोट, सुर्ती र खैनी खाऊ, खाऊ भन्ने बानी हराउँदै जान्छ', उहाँले भन्नुभयो, 'अनि बिस्तारै मानिसको लत हटाउन सकिन्छ ।' अस्पतालले थेरापीमा दन्त विभाग, क्यान्सर विभाग र मेडिसिन विभागका चिकित्सकको समन्वयमा लत छुटाइने गरिन्छ ।

दन्त विभागमा सुर्ती खाएको थाहा हुने गर्दछ । क्यान्सर विभागमा बिरामीले चुरोट खाने गरेको थाहा हुन्छ । र मेडिसिन विभागमा चुरोटले गर्दा बिरामीलाई दम भएको हुन्छ । ती विभागले समन्वयमा अस्पतालले सुर्तीजन्य पदार्थको लत छुटाउन थालेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अस्पताललाई सुर्तीजन्य पदार्थको लत हटाउनका लागि ४५ हजार निकोटिन चुइगम उपलब्ध गराएको छ । 

निकोटिन चुइगम चिकित्सकले दिइसके पछि निश्चित अवधिपछि पुनः अस्पतालमा बोलाएर बिरामीको अवस्था हेरेर चुइमग खान फेरि दिइने उहाँले बताउनुभयो । यसैगरी अस्पतालमा सुर्तीजन्य पदार्थ कति खाइरहेको छ त्यसको आधारमा पनि लत छुटाउनका लागि परामर्श सेवा पनि उपलब्ध गराइएको अस्पतालका निर्देशक डा. पौडेलले जानकारी दिनुभयो ।

अस्पतालले क्यान्सर विभागमा परार्मशका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ । सुर्तीजन्य पदार्थको खाएका कारण नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । सुर्तीजन्य पदार्थ खाँदा श्वासप्रश्वास सम्बन्धी समस्या, मुटु रोग, क्यान्सर रोग, दीर्घ रोग लगायतका समस्या देखिने गर्दछ ।  

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् गरेको सर्वेक्षणमा नेपालमा २८.९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ । तीमध्ये ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।  डब्ल्यूएचओको सन् २०२२ को तथ्याङ्क अनुसार विश्वमा २२.३ प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । सुर्तीजन्य पदार्थको प्रयोग महिला भन्दा पुरुषमा बढी हुने गरेको छ । महिलाको ७.८ प्रतिशत र पुरुषमा ३६.७ प्रतिशत रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update