Kath khabar
ललितपुरको मङ्गलबजारमा आज श्रीनिवास मल्लको सिंहासन प्रदर्शनका साथै सांस्कृतिक सङ्गीत महोत्सव हुँदै

 

                 ललितपुर, जेठ २१ ।  ललितपुरको मङ्गलबजारमा आज सांस्कृतिक सङ्गीत महोत्सवसँगै मल्ल राजा श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन गरिँदैछ । हरेक वर्षको जेष्ठ शुक्ल पूर्णिमा अर्थात् ज्या: पूह्नीका दिन मङ्गलबजारमा श्रीनिवास मल्लको  सिंहासन प्रदर्शन गर्ने गरिएको छ।

सिंहासन प्रदर्शनसँगै सङ्गीत महोत्सव हुन लागेको हो । झण्डै ४ सय वर्ष अघिदेखि अर्थात् सिद्धि नरसिंह मल्लको पाला देखि पूर्णिमाका दिन सङ्गीत महोत्सव गर्ने चलन रहिआएको छ । सङ्गीत महोत्सवमा राजा सिद्धिनरसिंह मल्लले तयार पार्नु भएको राग मल्हार सहित ३२ वटा राग गाउने गरिन्छ ।

त्यस्तै सिद्धिनरसिंह मल्लको शासनकालमा बनेको पौभाः चित्र प्रदर्शनमा राखिनेछ । अरु दिन भने सिंहासन र पौभाः पाटन म्युजियम भित्र सुरक्षित तरिकाले राख्ने गरिन्छ । महोत्सव कार्तिक डबलीमा दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म हुनेछ ।

यस्तै, काठमाण्डौ उपत्यकाका नेवारले आजको दिनलाई वर्षको सबैभन्दा लामो दिनको रुपमा लिने गर्दछन् । पश्चिमेली परम्परामा भने जुन २१ तारिखलाई सबैभन्दा लामो दिनको रुपमा लिने गरिन्छ ।

यसैबीच, आज पनौतीमा भैरव र भद्रकालीको मुख्य जात्रा हुँदैछ । पनौतीमा हरेक वर्ष जेष्ठ शुक्ल पूर्णिमाका दिन जात्रा हुने गर्दछ । जात्राको क्रममा आज पनौतीको अजा टोलमा भैरव, महादेव र भद्रकालीको खट जात्रा गरिनेछ । ३ दिन अघि शुरु भएको  जात्रा आज जोगी चक्र पूजा गरेसँगै सकिनेछ । भैरव र भद्रकालीलाई महादेव र पार्वतीकै अर्को रुप भएको विश्वास गरिन्छ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update