Kath khabar
टाइटानिक देखाउन लगिएको हराएको पनडुब्बीमा अब ३० घण्टाको लागि मात्र अक्सिजन बाँकी

 

                काठमाडौं, असार ६ ।  टाइटानिकको भग्नावशेषको खोजी गरिरहेको एउटा पनडुब्बी आइतवार बेपत्ता भएपछि उत्तरी एट्लान्टिकमा व्यापक खोज तथा उद्धार कार्य जारी छ ।

पाँच जना सवार रहेको पनडुब्बीमा पनडुब्बीका मालिक, फ्रान्सेली पनडुब्बी अपरेटर, बेलायती उड्डयन व्यवसायी र एक धनी पाकिस्तानी व्यापारी र उनका छोरा छन्। अनुसन्धानको जहाज पोलार प्रिन्सले डुबुल्की मारेको एक घन्टा ४५ मिनेटमा टाइटनका चालक दलसँगको सम्पर्क टुटेको थियो । कम्पनीले सम्पर्क टुटेको पुष्टि गरेको छ ।

उत्तर आन्ध्र महासागरको झन्डै २०,००० वर्ग किलोमिटर क्षेत्रमा 'टाइटन' नामक पनडुब्बीको खोजी भइरहेको छ। खोजीका क्रममा क्यानडाको पी-थ्री विमानले 'पानीभित्रबाट आवाज आएको' सुनेको क्यानडाको कोस्ट गार्डले जनाएको छ। तीन दिनदेखि चलिरहेको खोजी अभियानमा उक्त पनडुब्बीको अवस्थितिबारे सम्भवतः यो नै पहिलो ठोस सङ्केत हो। त्यसकै आधारमा अधिकारीहरूले अहिले खोजी अभियानमा परिवर्तन गरेका छन्।

ओशनगेट नामक कम्पनीको स्वामित्वमा रहेको उक्त पनडुब्बीको भिडिओ सन् २०२२ मा बीबीसीले खिचेको थियो। एक भिडिओ गेम कन्ट्रोलरले सञ्चालन गर्ने उक्त जहाजमा सीमित अक्सिजन बाँकी रहेको मानिएको छ। उक्त पनडुब्बी खोज्नका लागि थप स्रोतको परिचालन गरिएको छ र समुद्रभित्र निकै गहिरो स्थानमा गरिने उद्धारमा विशेषज्ञता भएका निजी कम्पनीहरू समेत सहभागी भएका छन्।

खोजी अभियानमा अहिले विभिन्न देशका विमान र पानीजहाज पनि खटेका छन्। उक्त पनडुब्बी खोजी अभियानमा अमेरिकी तथा क्यानडाका तटरक्षकहरू सहभागी छन्। अनुसन्धानमा प्रयोग हुने फ्रान्सको एउटा पानीजहाज पनि खोजीमा प्रयोग भएको छ। उक्त पनडुब्बीभित्र अब ३० घण्टाभन्दा कम समयका लागि मात्र अक्सिजन रहेको बताइएको छ।

पानीमुनि जाने सवारी साधनहरूमा पिङ्गर भनिने ध्वनिक यन्त्र हुन्छ। यसबाट निस्कने ध्वनि तरंगहरू मार्फत उद्धारकर्ताहरूले गाडीलाई पानीमुनि पत्ता लगाउँछन्। टाइटनमा के छ भन्ने स्पष्ट छैन। त्यसमा टाइटनलाई जहाजको भग्नावशेषसम्म पुग्न साढे दुई घण्टा लाग्ने भनिए पनि १ घण्टा ४५ मिनेटमै सम्पर्कविहीन भएको थियो । टाइटानिकको भग्नावशेष उत्तर अमेरिकाको महासागरको सबैभन्दा नजिक रहेको क्यानडाको न्यूफाउन्डल्याण्डको सेन्ट जोन्सबाट ७०० किलोमिटर टाढा एट्लान्टिक महासागरमा छ।

बेपत्ता पनडुब्बीमा बेलायतका अर्बपति व्यापारी हमिस हार्डिङ पनि छन् । उनी पनि यही पनडुब्बीमा सवार रहेको उनको परिवारले दाबी गरेको छ । गत हप्ता यससँग सम्बन्धित एक पोस्ट सेयर गर्दै हार्डिङले लेखेका थिए कि टाइटानिकको भग्नावशेषमा जाने अभियानको एक हिस्सा हुँ भन्न पाउँदा गर्व लाग्छ ।

सन् १९१२ मा बेलायतबाट अमेरिका जाँदै गरेको टाइटानिक बाटोमा आइसबर्गसँग ठोक्किएको थियो । यो जहाजमा कुल २२०० जना सवार थिए, जसमध्ये करिब १५०० जनाको मृत्यु भएको थियो । सन् १९८५ मा टाइटानिक जहाजको भग्नावशेष भेटिएको थियो र त्यसबेलादेखि यो भग्नावशेष हेर्न खोजी अभियान जारी छ । (बिबिसिको सहयोगमा)

 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update