Kath khabar
आजबाट सर्वसाधरणका लागि काठमाडौँ उपत्यकाका अस्पतालमा २,०२८ शय्या निःशुल्क उपलब्ध हुने

 

               काठमाडौं, असार १४ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले  सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि आजदेखि २,०२८ शय्या निःशुल्क गरिने बताएका छन्। 

आजदेखि उपत्यकाका गंगालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिए। ‘कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले ४५० शय्या, ट्रमा सेन्टरले १५० शय्या र सहिद गंगालाल हृदयरोग केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरेका छन्,’ मन्त्री बस्नेतले  भने। 

उनका अनुसार अहिलेसम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शय्याको संख्या २,०२८ पुगेको छ। ‘वीर अस्पतालले सात सय शय्या र कोसी अस्पतालले तीन सय ३० शय्या निःशुल्क उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेका छन्,’ मन्त्री बस्नेतले भने। 

उनले विस्तारै देशभरिका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क शय्या थप्दै जाने र ती शय्यामा उपचार पनि निःशुल्क हुने जानकारी दिए। शय्या निःशुल्क गरेपछि अस्पताल माथि पर्ने आर्थिक भार कम गर्न केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको मन्त्री बस्नेतले बताए। 

स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकार भएकाले उक्त निर्णय सबै अस्पतालले कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ। निजी अस्पताल पनि जिम्मेवार भई नियम अनुसार कुल शय्याको १० प्रतिशत  विपन्नका लागि निःशुल्क छुट्याउनु पर्ने भन्दै मन्त्री बस्नेतले १० प्रतिशत शय्या निःशुल्क गर्ने नियम कडाइका साथ कार्यान्वयन गराइरहेको बताएका छन्।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update