Kath khabar
सन्दर्भ असार १५ : किसानको मेलोमा कृषिका विद्यार्थी

 

                 तुलसीपुर, असार १५ । बिहानभरि ओसिएको आकाश विस्तारै खुल्दै थियो । पानीका बाछिटा पातलिदै जाँदा तुलसीपुर १८ बकुलाईका जितबहादुर चौधरीको खेतमा विद्यार्थीहरू बाक्लिदै गएका थिए । अघिल्लो दिन नै रोपाईमा सघाउन र धान दिवस मनाउनका लागि उनलाई सूचना गरिएको थियो ।

तुलसीपुर बहुप्राविधिक शिक्षालयमा कृषि विज्ञान अध्ययनरत विद्यार्थीहरूले उनको खेत भरिएको थियो । रोप्नका लागि ठिक्क पारिएको खेतमा विद्यार्थीहरु मेलो सार्न पसेपछि जितबहादुर निकै खुसी देखिन्थे। तुलसीपुर उपमहानगरपालिका कृषि शाखा र तुलसीपुर बहुप्राविधिक शिक्षालयले आयोजना गरेको किसानसँग कृषिका विद्यार्थी कार्यक्रममा विद्यार्थीहरु असार १५ को मेसो पारेर खेतमा पुगेका हुन् ।

आफूले किताबमा पढेको कुरा किसानलाई बाँडेको र किसानबाट व्यवहारिक ज्ञान हासिल गरेको विद्यार्थी सन्दीप मल्लले बताए । उनले कृषि पढ्ने विद्यार्थीहरूले माटोलाई चिन्न सक्नुपर्ने समेत बताए । हिलाम्य भएर रोपाइ गरिरहेकी अर्की विद्यार्थी स्पन्दन भुसालले माटोमै टेकेर व्यवहारिक ढंगले पढ्न पाउँदा खुसी भएको बताइन् । ‘हामीले कक्षामा हरेक दिन पढिरहेका हुन्छौ तर यसरी खेतमै आएर माटो टेक्दै पढ्न पाउँदा धेरै कुरा सिकेको महसुस भएको छ’ भुषालले भनिन् । उनले शहरमा रोपाइ संस्कृति हराउँदै गएकोमा चिन्ता समेत व्यक्त गरिन् ।

विद्यार्थीलाई मेलो सार्नका लागि प्रेरित गर्न नगरप्रमुख टिकाराम खड्का, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, अर्थ समिति सभापति माधव वली, शिक्षालय प्रमुख वसन्त आचार्य पनि हातभरि ब्याड बोकेर खेतमा पसेका थिए । ‘माटोलाई प्रेम गर्नेले कहिल्यै पनि दुख पाउँदैन’ नगरप्रमुख टिकाराम खड्काले बताए । उनले खेती किसानी गर्ने क्रम बढ्दै जाँदा कृषिप्रधान देश पनि कृषिमा आत्मनिर्भर हुन नसकेको दुख व्यक्त गरे । ‘अब कृषि पढेर आधुनिक कृषि गर्नमा विद्यार्थीहरूले ध्यान दिनुपर्दछ’ उनले उत्प्रेरित गरे  ।

धानमा नेपाललाई आत्मनिर्भर बनाउन आवश्यक रहेको अर्थ समिति सभापति माधव वलीले बताए । आधुनिक कृषि प्रणाली मार्फत उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । कृषि विकास शाखामा शंकर न्यौपानेले रैथाने बाली संरक्षणमा ध्यान दिन आवश्यक भएको बताए ।
    

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update