Kath khabar
एलोन मस्कले गरे ट्विटरमा पढ्न पाउने ट्विटको संख्या सीमित गर्ने घोषणा

 

                   काठमाडौं, असार १७ । सामाजिक सञ्जाल ट्विटरका मालिक एलोन मस्कले ट्विटरमा अब पढ्न पाउने ट्वीटको संख्या सीमित गर्ने घोषणा गरेका छन् ।

अहिलेसम्म ट्विटर पूर्ण रूपमा खुला प्लेटफर्म थियो, अर्थात् ट्विटरमा खाता नभएका मानिसहरूले पनि ट्वीट सेयर गर्न र हेर्न सक्थे । यसका लागि उनीहरूलाई लगइन वा खाता आवश्यक पर्दैनथ्यो । तर अब मस्कले यसलाई परिवर्तन गरेर ट्विटरको लागि सीमा तोकेका छन् ।

पैसा तिरेर नीलो टिक किन्ने व्यक्तिले एक दिनमा अधिकतम ट्वीट पढ्न सक्नेछन् । निःशुल्क प्रयोगकर्ताले केही ट्वीट मात्रै हेर्न सक्नेछन् । मस्कले ट्वीट पढ्न पाउने संख्यालाई पटक पटक संशोधन गरेका छन् । शनिवार दिउँसो उनले भेरिफाइड अकाउन्टबाट दैनिक ६ हजार पोष्ट मात्र पढ्न पाइने बताएका थिए ।

यो ट्विटको केही समयपछि मस्कले ब्लु टिक प्रयोगकर्ताका लागि पोस्ट पढ्ने सीमा चाँडै नै बढाएर ८,००० र अप्रमाणित खाताका लागि ८०० र नयाँ अप्रमाणित प्रयोगकर्ताका लागि ४०० पुर्याउने बताएका थिए ।

एलोन मस्कले केही घण्टापछि अर्को ट्वीट गर्दै अब ब्लु टिक प्रयोगकर्ताले एक दिनमा १०,००० पोष्टहरू, अप्रमाणित खाताहरू १,००० र नयाँ अप्रमाणित प्रयोगकर्ताहरूले एक दिनमा ५०० पोस्ट पढ्न सक्ने बताए । यो कम्पनीको पछिल्लो अपडेट हो जुन लागू भएको छ ।

मस्कले डाटा चोरी रोक्नको लागि यो कदम उठाएका हुन् ।  ट्विटरमा अहिलेसम्म जो कोहीले पनि प्लेटफर्ममा छिर्न  सक्थे, जसका कारण ट्विटरको डाटा धेरै ठाउँमा फैलिएको थियो । एआई टुल्स आएपछि यो काम तिब्र गतिमा बढ्दै गएपछि मस्कले यो महत्वपूर्ण निर्णय लिएका हुन् ।

 

 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update