Kath khabar
प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ अर्पण शर्मालाई बधाई

 

                 काठमाडौं, असार १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई नेपालीको नाम विश्वमा राख्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिनुभयो ।

शर्माले एक मिनटमा ८३ वस्तुको क्रम स्मरण गरेर विश्व कीर्तिमान काम गर्नुभएको हो । उहाँले त्यसको श्रेय आफ्नो ध्यान, साधना र ‘मेमोरी टेक्निक’लाई दिनुहुन्छ । थप विश्व रेकर्ड कायम गर्ने अठोट गर्नुभएका शर्माले विद्यार्थीलाई पनि स्मरण शक्ति बढाउने तालिम दिँदै आउनुभएको छ ।

स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गर्नुभएका शर्माले छिट्टै तेस्रो रेकर्ड राख्ने तयारी गर्नुभएको छ । शर्माले यसअघि सन् २०१५ मा एक मिनटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाउनुभएको थियो ।

शर्माले रासससँग कुरा गर्दै भन्नुभयो, “यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभइ सम्पूर्ण नेपालीको भएको महसुस गर्दै आगामी दिनमा अझै वर्ल्ड रेकर्ड राखेर नेपालको नाम विश्व सामू फैलाउने योजना छ ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update