Kath khabar
सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिने 

 

                 काठमाडौं, असार २० ।  सरकारले बालिकालाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिने तयारी गरेको छ ।

चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन नामको एचपीभी भाइरस विरुद्धको २० हजार मात्रा खोप नेपाल भित्रिएको छ । यो खोप ९ देखि १४ वर्ष उमेरका बालिकालाई लगाउने तयारी भएको हो । तर, कहिले देखि खोप लगाउने भन्ने टुंगिएको छैन ।

अहिले २० हजार मात्रा मात्रै आएकाले कसलाई प्राथमिकतामा राख्ने भन्ने पनि टुंगी सकेको छैन । यो खोप टेकुमा रहेको भण्डारणमा राखिएको छ । बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार यो खोप २ मात्रा लगाउनु पर्छ ।

पहिलो मात्रा लगाएको ६ महिना पछि अर्को मात्रा लगाउनु पर्छ । अहिले आएको २० हजार मात्राले १० हजार बालिकालाई मात्रै खोप दिन पुग्छ । केही मात्रा खेर जाने सम्भावना पनि हुन्छ । यसले गर्दा खोप लगाउने बालिका छनौट गर्न स्वास्थ्य मन्त्रालयलाई चुनौती छ । यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको पनि डाक्टर गौतमले बताउनुभयो ।

खोप कार्यक्रम कहाँ सञ्चालन गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयलाई निर्देशनका लागि पत्र पठाइसकिएकाले  केही दिन भित्र निर्णय हुने उहाँले जानकारी दिनुभयो ।

डाक्टरका अनुसार महिलामा हुने क्यान्सर मध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए पाठेकघरको मुखको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओको तथ्यांक अनुसार नेपालमा १ लाख महिला मध्ये १४ जना भन्दा धेरैलाई पाठेघर मुखको क्यान्सर हुन्छ । यसकै कारण वार्षिक २ हजार जनाको ज्यान जाने गरेको छ ।  केही वर्ष अघि यो खोपको प्रभावकारीता अध्ययन गर्न चितवन र कास्कीमा खोप वितरण गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update