Kath khabar
भारी वर्षा र बाढीले चीनमा १५ जनाको मृत्यु

 

                  बेइजिङ, असार २० ।  मुसलधारे वर्षा र बाढीले दक्षिणपश्चिम चीनको चोङकिङमा कम्तीमा १५ जनाको मृत्यु भएको छ  भने चार जना बेपत्ता छन् ।

सोमबारदेखि परेको मुसलधारे वर्षाका कारण बुधबार बिहान ७ बजेसम्म दक्षिणपश्चिम चीनको चोङकिङ नगरपालिकामा १५ जनाको मृत्यु भएको छ र चार जना बेपत्ता भएका राज्य सञ्चालित समाचार समिति सिन्ह्वाले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

मौसम विज्ञान विभागका अधिकारीहरूले मङ्गलबार मध्य र दक्षिणपश्चिम चीनका धेरै भूभागमा भीषण वर्षा हुने जनाउँदै सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको थियो । वर्षाका कारण करिब ८५ हजार मानिस विस्थापित भएका छन् । छिमेकी सिचुआन प्रान्तमा पनि चार लाख ६० हजारभन्दा बढी सर्वसाधारण प्रभावित भएका छन् ।

राष्ट्रपति सी चिनफिङले सबै तहका अधिकारीहरूलाई जनताको सुरक्षा र सम्पत्तिको संरक्षणलाई उच्च प्राथमिकता दिन निर्देशन दिनुभएको छ । राष्ट्रपति सीले सबै तहका प्रमुख अधिकारीहरूलाई बाढीबाट जनसाधारणलाई जोगाउन तथा जनताको सुरक्षा र सम्पत्तिलाई संरक्षणलाई प्राथमिकता दिँदै सबै प्रकारको क्षति घटाउने प्रयासमा सक्रिय रहन निर्देशन दिनुभएको सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update