Kath khabar
चन्द्रमास अनुसार यस वर्षको साउने सोमबारको व्रत आज सोमबार देखि शुरु

 

                    काठमाडौं, असार २५ ।  चन्द्रमास अनुसार यस वर्षको साउने सोमबारको व्रत आज सोमबार देखि शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रो अनुसार आज देखि व्रत शुरु भएको हो ।  यस वर्ष साउन महिनामा अधिकमास परेको र चन्द्रमास अनुसार २ वटा सोमबार पछि अधिकमास शुरु हुने पात्रोमा उल्लेख गरिएको छ । त्यसैले असार अन्तिमको सोमबारबाटै व्रत बस्न शुरु गरिएको हो । समितिका सदस्य  प्रा.डा. देवमणि भट्टराई गुरुपूर्णिमा देखि जनै पूर्णिमासम्मका सोमबारमा व्रत लिनुपर्ने निर्णय सिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् ।

पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास अनुसार साउन लागे देखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।  साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ ।

चान्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाख भन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताए ।

साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए । चान्द्रमास अनुसार साउन महिना लागे देखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update