Kath khabar
काठमाडौं महानगरपालिकाले लाजिम्पाटको आकाश फुड्सलाई १ लाख ५० हजार रुपैयाँ जरिबाना गरायो

 

                  काठमाडौं, असार २५ ।  काठमाडौं महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको आकाश फुड्स पसललाई  १ लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

पसल सञ्चालक अङ्कुर अग्रवालले सडेगलेका ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री गरेको पाएपछि १ लाख ५० हजार रुपैयाँ जरिबाना गरेको महानगरका निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो ।

७ दिनभित्र एनआईसी एसिया बैङ्कमा बजार अनुगमन समितिको राजस्व खाता नम्बरमा जरिबाना बापतको रकम जम्मा गरी बैङ्क भौचरको दोस्रो प्रति महानगरपालिकामा पेश गर्न पनि निर्देशन दिइएको छ  । तोकिएको समय भित्र जरिबाना बापतको रकम नबुझाए थप कारबाही हुने महानगरपालिकाले जनाएको छ ।

यसैबीच, महानगरपालिकाको वडा नं ६ बौद्धका गोकुल बहादुर बुढाथोकीलाई पनि ५० हजार रुपैयाँ जरिबाना तिराइएको छ । सेफ्टी ट्याङ्कीको फोहर ढलमा मिसाएको पाइए पछि बुढाथोकीलाई जरिबाना तिराइएको हो।

पछिल्लो समय कामपाले आफ्नो अधिकार क्षेत्र भित्रमा ठाउँमा जथाभाबी फोहर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहर मिसाउनेलाई नियमित अनुगमन गरी कारबाही गर्न थालेको  छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update