Kath khabar
भीमदत्तका ६ अवैध मेडिकलमा प्रहरीको छापा, ४ जना पक्राउ, २ जना फरार


              कञ्चनपुर, असार ३१ ।  कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाका ६ निजी मेडिकल (औषधि पसल)मा छापा हानेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ७, १३, १० र १६ चार वडाका ६ मेडिकलमा छापा हानेको हो। 

कञ्चनपुर प्रहरीले आइतबार पत्रकार सम्मेलन मार्फत गैरकानुनी रूपमा औषधि बेचबिखन गर्दै आएका औषधि पसलमा कारबाही गरेको जनाएको छ। कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले विनाइजाजत गैरकानुनी रूपमा औषधि बिक्रीवितरण गर्दै आएका निजी औषधि पसलमा छापा हानेको बताए। 

‘हामीले अवैध मेडिकल पसलमा छापा हान्यौँ,’ प्रहरी प्रमुख थापाले भने, ‘४ जना पक्राउ गर्न सफल भयौँ। २ जना फरार भएका छन्। बाँकी औषधि बरामद गरेका छौँ। बेच्न नै नमिल्ने औषधि बेच्नेदेखि फार्मेसी दर्ता नगरेर गैरकानुनी रूपमा औषधि पसल चलाएका रहेछन्।’ 

प्रहरी प्रमुख थापाका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-७ हल्दुखालबाट विमला उपाध्याय, भीनपा-१० गड्डाचौकीका सुरेश पाण्डेय, मोहन रोकाया र भीनपा-१६ मझ गाउँका राजेन्द्रबहादुर चन्द छन्। भीनपा-१३ साझा चौराहका रामबहादुर विष्ट र भीनपा-१६ वसन्तपुरका वीरेन्द्रराज पन्त फरार रहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरूले विना इजाजत जोखिमपूर्ण औषधि बेचबिखन गर्ने, लागुऔषध बेच्ने, फार्मेसी तथा औषधि पसलले चिकित्सकको सिफारिसविनै औषधि बेचबिखन गरेको आरोप लगाएको छ। ‘पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘भागेकाहरूको समेत खोजी भइरहेको छ।’ 

उनीहरू विरुद्ध कञ्चनपुर प्रहरी प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ बमोजिम जोखिम पूर्ण औषधि बिक्रीवितरण विरुद्ध मुद्दा चलाउने जनाएको छ। 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update