Kath khabar
पुरुषोत्तममासमा लाग्ने एकमात्र एक महिने मेला ‘मच्छेनारायण मेला’ आजदेखि शुरू

 

               काठमाडौं, साउन २ ।  काठमाडौं चन्द्रागिरिमा रहेको मच्छेनारायणमा आजदेखि पुरुषोत्तममास मेला शुरू भएको छ । पुरुषोत्तममास अर्थात्मा अधिकमासमा अरू कुनै शुभकार्य तथा भगवानको पूजा नहुने समयमा मच्छेनारायण मन्दिरमा मेला लाग्ने हुँदा यसको ठूलो महत्त्व रहेको पुरुषोत्तममास मेला व्यवस्थापन समितिका संयोजक तथा चन्द्रागिरि नगरपालिका-९ का वडाध्यक्ष अच्युत अधिकारीले बताउनुभयो ।

पुरुषोत्तममास अर्थात् मलमासमा अरु कुनै शुभकार्य तथा देवकार्य गर्ने गरिँदैन । भगवानको देवकार्य नहुने समयमा मच्छेनारायण मन्दिरमा भने एक महिने मेला लाग्ने हुँदा पनि यसको धेरै ठूलो महत्त्व रहेको अधिकारीले बताउनुभयो । मेलामा काँसको थालमा मालपुवा हालेर दान गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ ।

कथन अनुसार सत्य युगमा सत्यव्रत राजाले जप, पाठ, ध्यान गर्दा हातमा माछा आयो । अनि माछालाई संरुक्षण गर्ने क्रममा मच्छेनारायणमा ३ वटा कुवा खन्नुभयो । ३ वटा कुवामध्ये सुवर्णकुण्डमा मन्दिर स्थापना भयो । मन्दिरको अगाडि भने मच्छेकुण्ड र पछाडि नागकुण्ड रहेको छ । यदि नागकुण्डको पानी कसैले स्नान गर्छ, ग्रहण गर्छ भने सम्पूर्ण दीर्घ रोगीहरुको रोग निको हुने, घाउ, खटिरा निको हुने किंवदन्ती समेत रहेको छ । यसकारण पनि मच्छेनारायणको ठूलो महत्त्व रहेको पुजारी शैलेष आचार्य बताउनुहुन्छ ।

मलमासलाई अलि नराम्रो महिनाकोरुपमा सोच्न थालिएकोले भगवान पुरुषोत्तमले मलमासमा आएर उत्तम बनाउनु भएकोले यसलाई पुरुषोत्तम महिना भन्ने गरिएको शास्त्रीय मान्यता छ । भगवान श्री मच्छेनारायणले नारायणको पहिलो अवतार मत्स्य अवतारको दर्शन गराउनु भएको स्थान भएको हुँदा पनि यहाँ लाग्ने मेलाको बेग्लै धार्मिक तथा अध्यात्मिक महत्त्व रहेको पनि आचार्यले जानकारी गराउनु भयो ।

मच्छेनारायण मन्दिर लिच्छविकालमा राजा मानदेवको पालामा सुरुवातमै बनेको आचार्यले बताउनु भयो । जुन घण्ट आकारमा र प्यागोडा शैलीमा बनेको छ । मन्दिर भित्र रहेको मूर्ति साक्षात नारायण तथा चतुर्बाहु शङ्ख, चक्र, गदा, पद्म लिएको र मुनि आधा माछा अनि माथि चर्तुबाहु नारायण भएको हुनुहुन्छ । दायाँबायाँ भने उमामहेश्वर, गणेश र पाञ्चायन देवता पनि भित्रै हुनुहुन्छ । मन्दिर भित्र कलात्मक मूर्ति रहेको छ । मन्दिर पछाडि रिशेश्वरको महादेव रहेको छ ।

मच्छेनारायणमा रहेको गोपालीहरुको पुर्खाको रुपमा गोपाललाई मानिन्छ । जुन भगवान कृष्णले भञ्ज्याङबाट प्रवेश गर्ने क्रममा तलाउ रहेको मच्छेनारायणमा पानी बाहिर पठाएपछि मच्छेनारायणमा बस्ती बसेको मानिन्छ । लिच्छविकालमा मन्दिर बन्यो, मल्लकालमा धारा तथा मूर्तिहरु थप भएको तथा शाहवंशमा आएर मन्दिरको संरक्षण गर्ने, गुठी सञ्चालनका लागि जग्गा छुट्याउने, पूजा चलाउने, जात्रा चलाउने काम भएको प्रमाण रहेको आचार्यले बताउनु भयो ।

भगवानको पहिलो रुप माछा वा मत्स्य अवतारको रुपमा भएको हुँदा मच्छेनारायण पहिलो तीर्थस्थल र यस्तो खालको मूर्ति विश्वमा अन्त कहीँ नभएकाले यसलाई विश्वसम्पदा सूचिमा समावेश गर्न पहल भइरहेको पनि आचार्यले बताउनु भयो ।

सत्यव्रत राजालाई हयग्रिव दानवले ठूलो दुःख दिएपछि त्यसबाट पृथ्वीको रक्षा गर्न तथा भगवान ब्रह्माले गनुभएको सृष्टिको रक्षा गर्न मत्स्य अवतार धारण गर्नु भएकोले मेलाको बेग्लै महत्त्व रहेको पनि संयोजक अधिकारीले बताउनु भयो ।

पुरुषोत्तम महिनालाई मच्छेनारायण भगवानले उत्तम बनाउनु भएकोले पनि मलमासमा यस मन्दिरमा आएर दर्शन गर्नु शुभ मानिन्छ । मलमासमा कुनै शुभकार्य हुँदैन । पितृकार्य अन्तर्गत मलमासमा न्वारन र किरिया भने हुने गर्छ । तर देवकार्य तथा अरु शुभकार्य जस्तै विवाह, व्रतबन्ध तथा अन्य पूजाआजा भने हुँदैन । त्यसकारणले मलमासमा मच्छेनारायण मन्दिरमा गएर दर्शन गर्दा पाप नाश हुने र मनको इच्छा पूरा हुने, दान गर्दा अश्वमेध यज्ञ गरे जत्तिको पुण्य मिल्ने किंवदन्ती रहेको छ ।

मन्दिरमा भक्तजनलाई सहज दर्शनका लागि व्यवस्थापन समितिले पार्किङ, पूजासामग्री बेच्ने ठाउँको बेग्लै व्यवस्थापन गरेको पनि संयोजक अधिकारीले जानकारी गराउनुभयो । मन्दिरसँगै रहेको कृष्ण मन्दिरमा कृष्ण अष्टमीमा मेला पनि लाग्ने गर्छ । सँगै रहेको विष्णुदेवी मन्दिरमा ७ गाउँको जात्रामा यहाँ पनि जात्रा हुने गर्छ ।

काठमाण्डौको दक्षिण पश्चिम चन्द्रागिरि नगरपालिका-९ मा रहेको मच्छेनारायण मन्दिरमा जानका लागि सार्वजनिक बसबाट रत्नपार्कबाट कीर्तिपुर हुँदै जान सकिन्छ । साथै कलङ्की, सतुङ्गलबाट पनि मन्दिरमा जान सकिन्छ । 

 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update