Kath Khabar
छाउपडी प्रथामा आधारित फिल्म दुई दिन मै ट्रेन्डिङ्गमा

काठमाडौं, असार ५ । नेपालको मध्य तथा सुदूर पश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित कुप्रथामा आधारित नेपाली कथानक चलचित्र ‘टालो’अहिले चलचित्र बजारमा चर्चाको बिषय बनेको छ । रिम विश्वकर्माको कथा अनि दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादनमा निहारिका फिल्मस् प्रा. लि. को ब्यानरमा निर्माण भएको उक्त चलचित्र युट्युब च्यानल ओ एस आर बाट रिलिज भएको हो ।

जसमा रिम विश्वकर्मा, अन्जली खड्का, प्रेम देव गिरी, सुशिला सिंजापती, सुशिला सिं, उदय बि के, गगन बि के एलिशा बादी, सम्झना बादी,  खगेन्द्र के पी, भुपेश सोनि, शेरबहादुर, खगेन्द्र जैसी, जमुना बि.क आदि जस्ता नयाँ अनुहारले पर्दापण गर्नुभएको छ भने यो फिल्ममा भएको दुइटा गीतमा मेलिना राई, शान्ती श्री परियार ऋषि खड्काको आवाज रहेको छ र रमेश बि जि र ऋषि खड्काको शब्द रचना रहेको छ ।

उत्तम रिमालको द्वन्द निर्देशन रहेको उक्त चलचित्रमा दुई वटा द्वन्दको दृश्य समावेश गरिएको छ  । खास गरी छुई (मासिक श्राव) को बेला चेलीलाई छ दिनसम्म घरमा बस्न नदिई गोठमा वा जङ्गलमा सानो गोठ बनाएर बस्न बाध्य गराईने अमानविय कुप्रथालाई उन्मुलन गर्न सहयोगीको काम गरोस् भनेर यो फिल्म निर्माण गरिएको कथाकार तथा निर्माता रिम विश्वकर्माले बताउनुभयो  ।

वर्षाको समयमा वास्तविक छाउगोठ मै गई एकदमै दुख गरी बनाईएको उक्त चलचित्र सम्पुर्ण नेपाली ले एकपटक हेर्नैपर्ने निर्देशक दीपक श्रेष्ठको भनाई छ । कथामा जीवन्तता आओस् भन्ने हेतुले स्थानिय कलाकारलाई नै समावेश गराईएको निर्माण पक्षको भनाई छ ।

 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update