Kath khabar
ज्ञानेन्द्र मल्लले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

 


               काठमाडौं, साउन १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले सबै क्रिकेट करिअरबाट सन्न्यास लिएको जनाएका छन् । घरेलु क्रिकेट पनि नखेल्ने उनले पत्रकार सम्मेलनमा घोषणा गरे ।

पूर्वकप्तान पारस खड्काले सन्न्यास लिएको दुई वर्ष पुगेको अर्कोदिन ज्ञानेन्द्रले पनि नेपाली क्रिकेट टोलीबाट विश्राम लिने निर्णय लिएका हुन् । पारसले कप्तानी छाडेपछि ज्ञानेन्द्रले २०१९ देखी २०२१ सम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गरेका थिए ।

उनले आफूले सन्यासको घोषणा गर्दा मुटु भारी भएको बताउँदै अन्तर्राष्टिय क्रिकेटको यात्रालाई बिराम लगाउने र अर्को यात्रा शुरू गर्ने निर्णय गरेको बताए ।

सन् २००६ देखि नेपाली क्रिकेट टिमबाट खेल्दै आएका मल्लले ३७ ओडीआईमा ७ अर्धशतकसहित ८७६ रन बनाएका छन् । त्यस्तै, ४५ वटा अन्तर्राष्ट्रिय टी२० मा ८८३ रन बनाएका छन् । उनको अन्तिम खेल भने ४ जुलाई २०२३ मा आयरल्यान्डविरुद्ध खेलेका थिए ।

पत्रकार सम्मेलनमा उनले भावुक हुँदै भने -

उपस्थित सम्पूर्णमा नमस्कार , छोटो समयको सूचनाका बाबजूद मेरो निमन्त्रणालाई स्वीकार गरेर उपस्थित भइदिनु भएकामा एकदमै आभारी छ प्लाइउडमा लिस्टी ठोकेर बनाएको ब्याट , पत्रिका पानीमा भिजाएर रबर बेरेर बनाएको बल खेल्दा खेल्दै राष्ट्रिय टिममा जोडिएको पनि झण्डै २ दशक भइसकेछ ।

१८ वर्षसम्म चन्द्र सूर्य अंकित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाए, उपकप्तान र कप्तानको भूमिकामा रही देशको झण्डा काँधमा बोकेर नेपालको प्रतिनिधित्व गर्ने अवसर पाए । राष्ट्रको आशा र सपनाको प्रतीक बनेर मैदानमा उत्रिँदा इमान्दारिताका साथ सतप्रतिशत दिने प्रयास गरे ।

यो अवसरहरूका लागि म धेरै कृतज्ञ छु आएका कठिन परिस्थितिहरूलाई पनि सिकाईका रुपमा लिए । समग्रमा भन्नुपदा म निकै सन्तुष्ट छु । सानो हुँदादेखि नै मलाई यो खेल खेल्नका लागि प्रेरित गर्ने मेरो टोल भिमसेनस्थानका रसेल दाइ , साथीभाइ , मेरो क्रिकेटलाई राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग गरेको यशल क्रिकेट क्लब , टिममेट , विनोद राजभण्डारी लगायतका दाइहरूलाई सम्झन चाहन्छ । अनि मेरो परिवार, विशेषगरी मेरो श्रीमती, जसले मेरो हरेक सुखदुःखमा साथ दिइन् , छोरी मेरो खुशी जो क्रिकेटर क्रिकेट बाहिरको खुशी भइ आइन र सम्पूर्ण आफन्तलाई पनि सम्झना चाहन्छु । मेरो क्रिकेट करियरलाई आकार दिन भूमिका खेल्नु हुने प्रशिक्षकहरु क्यान अफिसियलहरू अनि , क्रिकेट समर्थकहरुप्रति पनि आभारी छु ।

मैले मैदानमा ब्याट उचाल्दै गर्दा प्याराफिटमा रहेर हौसला र उर्जाले प्राण भरिदिने अनि जीतमा खुसीका आसु तथा हारमा अर्को पटक जितका लागि उत्प्रेरणा दिइरहने दर्शक तथा समर्थकहरूको माया मेरो जीवनभरको जिउने आधार भइरहनेछ । यो पवित्र खेल क्रिकेट मेरो अस्तित्वको सार हो । स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म खेल्ने क्रममा यसले मलाई जीवन , दृढ संकल्प र एकताको शक्तिबारे अमूल्य पाठ सिकाएको छ । मैदानको हरेक पाइलामा आफ्नो देशको प्रतिनिधित्व गरेकोमा गर्व महसुस गरे , गर्छु । तर प्रकृतिको नियम हो , जन्मपछि मृत्यु अवश्यम्भावी छ । क्रिकेटमा पनि कुनै समय मैले कसैलाई रिप्लेस गरेको थिए होला, यो मेरो समय हो ।

त्यसैले मैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेटको यात्रालाई विराम लगाउने र एउटा फरक यात्रा आरम्भ गर्ने निर्णय लिएको छु । इमान्दारिताका साथ भन्नुपर्दा यति बेला मेरो मनमुटु भारी गह्रुङ्गो भइरहेको छ जुन बेलले मलाई यहाँहरु सबै माझ चिनाउन सफल भयो, मानप्रतिष्ठा दियो , सोही खेलबाट विदा लिन पक्कै सजिलो छैन । तर यो विदाई होइन , यो मेरो यात्राको नयाँ अध्याय हो । एउटा यात्रा जहाँ म खेलकुदको कट्टर समर्थक, यसको विकासको साक्षी र मलाई माया गर्ने देशको झण्डा गर्वका साथ सधै उच्च रहेको हेरेर बस्ने छु ।

अन्त्यमा, आदरणीय समर्थकहरू , तपाईहरु मेरो हृदयमा सधै रहनु भयो , मैदानमा तपाईंको अटल समर्थनले मलाई स्थिर राख्यो। आशा छ, भोलिका दिनमा पनि त्यसरी नै पाउने छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update