Kath khabar
दयाहाङ र मिरुनाको ‘घर ज्वाइँ’



                 काठमाडौं, साउन २९ । चर्चित जोडी दयाहाङ राई र मिरुना मगरलाई दर्शकले फेरि एकपटक पर्दामा सँगै हेर्न पाउने भएका छन् । उनीहरु अनिल बूढा मगरको निर्देशनमा बन्ने नयाँ फिल्म ‘घर ज्वाईं’ मा अनुबन्धित भएका हुन् ।

‘जारी’ को अपार सफलतापछि दयाहाङ र मिरुनालाई लिएर फिल्म बनाउन चाहने निर्माताको ताँती लागेको छ । मगर संस्कृतिको नजिक रहेर निर्माण गरिने ‘घर ज्वाइँ’ को निर्माता जनक घर्ती मगर हुन् । माघ दोश्रो साताबाट छायांकन सुरु हुने फिल्ममा बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा काउचा लगायतका कलाकारको समेत अभिनय रहने छ ।

‘घर ज्वाइँ’ मा दयाहाङ केही समयअघि नै अनुबन्धित भइसकेका थिए । मिरुनासँग भने यसै साता ‘साइन’ भएको हो । पूर्वी रुकुमका बिभिन्न स्थानमा छायांकन गरिने फिल्मका प्राविधिक र अन्य कलाकारको चयन केही समयपछि गरिने जानकारी निर्माता जनकले दिएका छन् ।

जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई सुवास कोइराला र बिनोद खतिवडाले साथ दिएका छन् । फिल्मलाई अहिलेको चर्चित बितरण कम्पनी आर आर फिल्मसका रोहित कट्टेल र रत्न श्रेष्ठले देशव्यापीरूपमा बितरण गर्ने पक्का भइसकेको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update