Kath Khabar
सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

 

               महेन्द्रनगर,  साउन ३२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्याङ्कीमा परेर बुधबार राति जङ्गली हात्तीको मृत्यु भएको छ ।

यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो ।

“राति १२ बजेपछि जङ्गली हात्ती सेफ्टी ट्याङ्कीमा परेर मृत्यु भएको देखिएको छ । अहिले प्राविधिकसहितको टोली गएर घटनास्थलमा मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

जङ्गली हात्ती बथानमा आएको हुनसक्ने उल्लेख गर्दै उहाँले मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउनुभयो । “यसबारे थप अनुसन्धान भइरहेको छ”, प्रमुख संरक्षण अधिकृत मेहताले भन्नुभयो, “विधि प्रक्रिया पुर्याएर
हात्तीको दाहसंस्कार गर्छौँ ।”
 

 

 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update