
काठमाडौं, भदौ ५ । राजधानीको चर्चित एलिभेट लाउञ्जमा बुधबार आयोजित तीज विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
मिस नेपाल इन्टरनेशनल २०२५ र काठ खबरको प्रस्तुति रहेको यस चर्चित कलाकारहरू 'हटीनटी' अनुपमा श्रेष्ठ, कलाकार पुजा लामा, गायिका देविका प्रधान र फेसन स्टार विशाल गुरुङहरुको कलाकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको विशेष अतिथिका रूपमा माननीय उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहको सम्मानित उपस्थिति रहेको थियो । सिंहले कार्यक्रममा सहभागी महिला तथा अतिथिहरूलाई तीजको शुभकामना दिँदै नेपाली सांस्कृतिक पर्वले आपसी सद्भाव र सामाजिक एकतालाई अझ प्रगाढ बनाउन सहयोग पुर्याउने उल्लेख गर्नुभयो।
कार्यक्रम सहभागीहरूले तीजका परम्परागत गीत–संगीतमा नाचगान गर्दै उत्साहपूर्वक रमाइलो गरे। कार्यक्रममा प्रस्तुत गरिएका आधुनिक तथा सांस्कृतिक नृत्य, लाइभ म्युजिक र विशेष प्रस्तुतीहरूले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । विभिन्न मनोरञ्जनात्मक सेसनले वातावरणलाई झनै उत्साहपूर्ण बनायो । साथै, सहभागीहरूलाई तीजको अवसरमा विशेष खानपान र आतिथ्य प्रदान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट नाच र उत्कृष्ट पहिरनका लागि आकर्षक गिफ्ट ह्याम्परहरु पनि प्रदान गरिएको थियो ।
आयोजक पक्षले तीजलाईआधुनिक शहरी जीवनशैलीसँग जोडेर मनाउने प्रयासका रूपमा यो कार्यक्रम आयोजना गरिएको कार्यक्रमका डाइरेक्टर विनोद के. सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागीहरूको उत्साह, कलाकारहरूको उत्कृष्ट प्रस्तुति तथा सहयोगी हातहरूले गर्दा कार्यक्रम अपेक्षाभन्दा अझै बढी भव्य र सफल भएको हो ।
कार्यक्रमको अवसरमा भदौ १३ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को पनि विशेष प्रमोशन गरिएको थियो । लैंगिक पहिचान र पारालैंगिक व्यक्तिको जीवन संघर्षलाई विषयवस्तु बनाइएको यस चलचित्रका सह–निर्माता तथा कलाकार 'हटीनटी' अनुपमा श्रेष्ठले कार्यक्रममा उपस्थित दर्शकसँग कुराकानी गर्दै चलचित्रलाई समर्थन गरी भदौ १३ गते प्रदर्शन हुने चलचित्र हेर्न हलसम्म पुग्न सबैलाई हार्दिक अनुरोध गर्नुभयो ।
यस कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरू- प्रदिप श्रेष्ठ, अनिल श्रेष्ठ, दिपेन श्रेष्ठ, नरेश श्रेष्ठ, धिरज तण्डुकार, सविन खड्का, अञ्जुम श्रेष्ठ, प्रमिला श्रेष्ठ, मनोज थापा, उषा घिमिरे, सुष्मा ताम्राकार, फेसन डिजाइनर मनिता थापालगायतलाई डाइरेक्टर सिंहले विशेष धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले तीजलाई सांस्कृतिक एकता, भेटघाट र खुशी बाँड्ने पर्वका रूपमा अघि बढाउन सबैको साथ र सहयोग सराहनीय रहेको उल्लेख गर्नुभयो ।
हिमालयन प्रिमियम लागर बियर, घरको ट्वाक्क अचार, श्याम बेकरी, भेरोनिका स्पा एण्ड ब्यूटी होम, डाबर रियल जुस लगायतका ब्रान्डहरू कार्यक्रमको विशेष प्रायोजकहरूमा रहेका थिए ।
यस किसिमकाे सांस्कृतिक कार्यक्रममार्फत नेपाली महिलाहरूबीच आपसी भेटघाट, सद्भाव र खुशी बाँड्ने परम्परालाई निरन्तरता दिन यस किसिमका आयोजना महत्वपूर्ण हुने आयोजकले विश्वास व्यक्त गरेका छन् । एलिभेट लाउञ्जले आगामी दिनमा पनि यस्ता सांगीतिक तथा सांस्कृतिक कार्यक्रम निरन्तर गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।
तस्विरहरु : एलिभेट लाउञ्ज/विनोद के. सिंह