Kath Khabar
सिडिएमए प्रयोगकर्ताका लागि नेपाल दूरसञ्चारको विभिन्न नयाँ अफर

 

                 काठमाडौं, साउन ३२ ।  नेपाल दूरसञ्चार कम्पनीले सिडिएमए फिक्स फोन अर्थात् सिफोन प्रयोगकर्ताका लागि विभिन्न अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले गत असारदेखि सिडिएमए सेवा बन्द गरेको छ । तसर्थ, सिडिएमए प्रयोगकर्ताका लागि कम्पनीले नयाँ अफर ल्याउने भएको हो । 

कम्पनीले आगामी भदौ १ गतेदेखि लागू हुने गरी अफर सञ्चालन गर्ने जनाएको छ । अफर प्याकेज अनुसार सिडिएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकले कम्पनीको नमस्ते वाइफाई प्रयोग गर्न सक्ने जनाइएको छ । अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियम मध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधाका साथै अन्य थप सुविधा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सो सेवा प्रयोग गर्ने ग्राहकलाई अनलिमिटेड बेसिक अन्तर्गत दैनिक रूपमा ५ एमबिपिएस गतिसम्मको १० जिबी डाटा उपलब्ध हुने उल्लेख छ । प्याकेजका लागि नयाँ जडान शुल्क अर्ध वार्षिक अवधिका लागि ५ हजार ९ सय ९९ रुपैयाँ र वार्षिक अवधिका लागि १० हजार ४ सय ९९ रुपैयाँ हुनेछ । त्यसैगरी, यसको महसुल अर्ध वार्षिक अवधिका लागि ४ हजार ९ सय ९९ रुपैयाँ र वार्षिक अवधिका लागि ९ हजार ४ सय ९९ रुपैयाँ हुने जनाइएको छ । 

त्यसैगरी, अनलिमिटेड प्रिमियम अन्तर्गत दैनिक रूपमा १० एमबिपिएस गतिसम्मको १५ जिबी डाटा उपलब्ध हुनेछ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्ध वार्षिक अवधिका लागि ८ हजार ९ सय ९९ रुपैयाँ र वार्षिक अवधिका लागि १६ हजार ४ सय ९९ रुपैयाँ हुने उल्लेख छ । यसको महसुल अर्ध वार्षिक अवधिका लागि ७ हजार ९ सय ९९ रुपैयाँ र वार्षिक अवधिका लागि १५ हजार ४ सय ९९ रुपैयाँ हुने जनाइएको । यी सबै प्याकेज लिने ग्राहकलाई थप रकम लिई आवश्यक फोरजी एलटीई सिपिईसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

नयाँ जडान अन्तर्गत यसरी अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४ सय मिनेट कम्पनीको नेटवर्कभित्र (अन नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्क भित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुनेछ । 

यसरी उपलब्ध हुने १० जिबी वा १५ जिबी डाटा सकिएको अवस्थामा उच्च गतिको डाटा चलाउन चाहनेहरूका लागि ५० रुपैयाँमा २४ घन्टा समयावधिसम्म चलाउन मिल्ने १० जिबी डाटा एड अन प्याकको रूपमा उपलब्ध हुने जनाइएको छ । 

नेपाल टेलिकमले पहिले देखि नै सिडिएमए प्रिपेड वा पोस्टपेड प्रयोगकर्तालाई जिएसएम प्रिपेड वा पोस्टपेडमा रूपान्तर हुँदा ‘सिडिएमए माइग्रेसन प्याकेज’उपलब्ध गराइरहेको छ । यदि सिडिएमए फिक्स्ड फोन प्रयोगकर्ताहरूले माथिको प्याकेज लिन नचाहेमा सोहीअनुसारको सिडिएमए माइग्रेसन प्याकेज लिन सकिने कम्पनीले जनाएको छ ।

यसअन्तर्गत प्रिपेड ग्राहकलाई मासिक रूपमा ३०० मिनेट अन नेट भ्वाइस कल गर्न, ४ जिबी डाटा चलाउन र ३०० अन नेट एसएमएस पठाउने सुविधा ६ महिनासम्म उपलब्ध हुनेछ । पोस्टपेड ग्राहकलाई मासिक रूपमा ४०० मिनेट अन नेट भ्वाइस कल गर्न, ५० मिनेट अफ नेट भ्वाइस कल गर्न, ६ जिबी डाटा चलाउन र २०० अन नेट एसएमएस पठाउने सुविधा ६ महिनासम्म उपलब्ध हुने जनाइएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update