काठमाडौं, भदौ १ । नेपाल टेलिकमले एक गिगवाइट पर सेकेन्ड (जीबीपीएस) अर्थात् १००० मेगावाइट पर सेकेन्ड (एमबीपीएस) सम्म उच्च गति भएको फाइभर टु होम (एफटीटीएच) इन्टरनेट सेवा प्रारम्भ गरेको छ। यसअघि कम्पनीले १०० एमबीपीएससम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेकामा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो।
हाल कम्पनीले जिपोन प्रविधि मार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेट मध्ये सबैभन्दा उच्च गति १०० एमबीपीएस रहेकामा अब एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध हुनेछ। यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस हुनेछ।
प्रिमियम एफटीटीएच ५०० एमबिपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ। यो प्याकमा ०.५ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ। प्रिमियम एफटीटीएच १ जीबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५०० मिनेट कल गर्न सकिनेछ। यो प्याकमा १ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ।
दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेटटप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ। ५०० एमबीपीएसको ‘प्रिमियम एफटीटीएच ५०० एमबिपीएस’ प्याकेज वार्षिक रु ८० हजार र १ जीबीपीएसको ‘प्रिमियम एफटीटीएच १ जीबीपीएस’ प्याकेज वार्षिक रु १ लाख १० हजारमा उपलब्ध हुनेछ।